
धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ३ जना बिनाविभागीय मन्त्रीहरूलाई आज मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका बसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री यादवले बाँकी ७ वटा मन्त्रालय भने हाल आफैंसँग राखेका छन् ।
पुस २७ गते तीनजना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री यादवले बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएर पुस २९ गते मुख्यमन्त्री यादवसँगै ३ जनाले बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।
मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।
यता, मधेस प्रदेश सरकारको सत्ता साझेदार दलहरुको छलफलबाट एक/दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । सत्ता साझेदार दलहरुबिच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि मधेस प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए भने पछि लोसपाका ९ जना सांसदले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका थिए।