काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधान सहित गृहमन्त्री बनेका थिए ।
लामिछानेले भने- 'यतिखेर म परिचय नभएको अनागरिक भएको छुु'
सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।
उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे । 'अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?' उनले भने, 'अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।'