काठमाडौं - रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न उनी आइतबार साँझ बालुवाटार पुगेका हुन् ।
आइतबार नागरिकता लिएसँगै उनी पार्टीको सभापतिमा मनोनित भएका थिए । शुक्रबार उनलाई अदालतले गैरनागरिक घोषणा गरेसँग उनले उपप्रधान तथा गृहमन्त्रीसँगै सांसद पद पनि गुमाएका थिए ।
उनी नेतृत्वको पार्टीले पुनः गृह मन्त्रालयकै माग गरेको छ ।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा फर्किए
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा फेरि रवि लामिछाने बनेका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।
पुरानो नागरिकता त्यागेपछि नेपाली नागरिकता नहुँदा उपप्रधानमन्त्री, गृहमन्त्री तथा पार्ट्टीको सभापति पदबाट मुक्त भएका थिए।
आइतबार नयाँ नागरिकता लिएपछि पार्टीले उनलाई फेरि पार्टीको सभापतिमा जिम्मेवारी दिएको हो ।
लामिछानेले फिर्ता गरे पासपोर्ट
रवि लामिछानेले नागरिकता पुनर्प्राप्तिपछि निष्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन्। उनले आइतबार दिउँसो राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनी राहदानी विभाग गएका थिए। राहदानी सम्बन्धी कानुनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएमा आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ।




