
आशिष घमिरे, सुनिल कुमार यादव
पात, डाठ र फल संगसंगै स्वस्थ जरा पनि एक स्वस्थ बिरुवाको पहिचान हो | हरेक बिरुवाले आफ्नो जराका मदतले पानी तथा बिरुवा लाई चाहिने सम्पूर्ण आवस्यक खनिज पदार्थ लिने गर्दछ | यिनै पानी तथा खनिजको मदतले बिरुवाले प्रकाश सेचन प्रक्रियाद्वारा आफुलाई चाहिने खाद्यान्न बनाउने गर्दछ | यिनै सन्चित खाद्यान्न पछि फलको रूपमा विकसित हुने गर्दछ | तसर्थ बिरुवाको जरा स्वस्थ रहेन भने बिरुवाको उत्पादनमा ह्रास आउनु स्वाभाविक नै हो |
आज हामीले छलफल गर्ने रोग टमाटर, भिंडी, भन्टा, गाजर, आलु, काक्रो, फर्सी, घिरौला, करेला, पर्वल, खुर्सानी, सिमि, केराउ, प्याज, काउली, बन्दा लगायत विभिन्न तरकारी बालीमा जुकाले लगाउने गाँठे रोग हो | यस रोगको कारण भनेको माटोमा पाइने एक किसिमको परजीवी जुका हो, जसलाई बैज्ञानिक भासामा Meloidogyne (मेलोईडोगाईने) भन्ने गरिन्छ | यो जुकाको प्रकोप न्यानो वा गर्मि ठाउमा बढी हुने भएकाले महोत्तरी लगायत मधेशका विभिन्न जिल्लाका किसानले यस बारे जानकारी राख्नु जरुरि छ | महोत्तरीका गौशाला, बर्दिबास, भंगाह, औरही लगायत विभिन्न पालिकामा यस रोगको समस्या बढी रहेको पइएको छ |

यस परजीवी जुकाका ९० भन्दा बढी प्रजातिहरु पहिचान भइसकेका छन् | जिबाडुको बारेमा अझै बुझ्नु पर्ने कुरा के छ भन्दा बिभिन्न जीवजन्तु जस्तै यसमा पनि भाले र पोथी जुका हुन्छन | भाले र पोथी बयस्क जुकाको सम्भोगबाट अन्डाहरु बन्दछन् जस भित्र पुन लार्वाहरु हुन्छन जसलाई हामि जुभेनाइल पनि भन्छौं | जुभेनाइल मध्ये पनि अण्डाबाट बाहिर निस्किने दोस्रो अवस्थाको जुभेनाइललाई भोक बढी लाग्ने हुदा बढी घातक हुने गर्दछ | कहिलेकाही जरामा भेटिएका गाँठाहरुलाई पानी भएको सिशाको गिलासमा राखेर नियालेर हेर्ने हो भने बिभिन्न अवस्थाका जुभेनाइल पानीमा हिडडुल गरेको देख्न पनि सकिन्छ |
रोगका लक्षण
रोगको पहिचान गर्नका लागि रोगका लक्षण सम्बन्धि राम्रो जानकारी हुनु जरुरि छ | सहि पहिचानले नै उचित ब्यस्थापन सम्भव छ | जुकाको दोस्रो अवस्थाको जुभेनाइलले जराको टुप्पोबाट पसेर आफ्नो तिखो सुडले बिरुवाका जराका कोषिकाबाट रस चुस्ने गर्दछ जसकारण जुभेनाइल जरामा पसेको २ देखि ३ दिन भित्रै साना गाँठाहरु बन्न थाल्छन् | समयसंगै गाँठाहरु ठुला तथा जरा उखेलेर हेर्दा नाङ्गो आखाले पनि देख्न सकिने खालका हुन्छन | एउटा जरामा आक्रमण गरिसकेपछि यी जुभेनाइलहरु नयाँ जरालाई आक्रमण गर्न जाने गर्दछन् | यसै क्रममा जुभेनाइलहरु दोस्रो बाट तेस्रो र चौथो अवस्थामा पुगेर बयस्क पनि बन्छन् | बयस्क भाले र पोथी जुकाद्वारा पुन अण्डा उत्पादित हुन्छन र यस्ता खैरो रंगका अण्डाहरु गाँठाभरि देख्न सकिन्छ | प्रायजसो अण्डाहरु जराका बाहिर हुने भएता पनि कहिलेकाँही जरा भित्र नदेखिने तवरले पनि उपस्थित हुन सक्छन् | यी गाँठाहरुपनि सुरुका अवस्थामा सार्हा हुने भएतापनि समयसंगै कमलो हुने गर्दछन् |
यस रोग अन्तर्गत सुरुमा जरामा लक्षण देखिएता पनि रोगको पछिल्ला अवस्थामा बिरुवाका जमिनमाथिका भागमा पनि केहि लक्षण देख्न सकिन्छ | यसको एउटा महत्वपुर्ण उदाहरण हो – ओइलाउने अवस्था | जब जरामा गाँठाहरु बन्छन्, ती गाँठाहरुले माटोबाट पानी तथा खनिजहरुको जमिन माथिका भाग तर्फ स्वत-स्फुर्त संचालनमा बाधा पुर्याउछ | पात डाठलगायत जमिन माथिका भागमा पानी संचालनमा अबरोध भएपछि बोट ओइलाउनु स्वाभाविक हो | बोट ओइलाउनु का साथ साथै पहेलिने तथा होचो हुने पनि गर्दछ | सुरुका अवस्थामा मध्ये दिन तथा चर्को घाम लाग्न ओइलाउने बोट-बिरुवाहरु रोगका पछिल्ला अवस्थामा दिन र रात जति बखत पनि ओइलाउन सक्छ | यसै गरि यस रोगले विरुवामा फूल फुल्ने तथा फल लाग्ने समयलाई पनि पछाडी धकेलिदिन सक्छ | कतिपय अवस्थामा त फूल वा फल नै नलाग्ने वा फल लागे पनि थोरै तथा साना आकारका हुने अवस्था आउन सक्छ जसको सिधा असर उत्पादनमा पर्दछ | आलु, गाजर, प्याज, मुला लगायतका जमिन मुनि फल्ने बालीको उत्पादनमा पनि यस रोगले ह्यास ल्याउने गरेको छ |
यस रोगमा जस्तै जरामा गाँठा अर्को एक रोगमा पनि देखिन सक्छ; काउली-बन्दा परिवारका बालीमा लाग्ने गाँठे रोगमा | यी २ रोग बीच फरक छुट्टाउन तेती गार्हो पनि छैन | काउली-बन्दाको गाँठे रोग मुख्यतय पहाडी चिसो भूभागमा पाइने ढुसीजन्य रोग हो भने जुकाजन्य गाँठा न्यानो स्थानमा पाइन्छ | साथै जुकाले विकास गर्ने गाँठा ढुसीले लगाउने गाँठा भन्दा साना र गोला हुने गर्दछन् | काउली-बन्दा परिवारमा लाग्ने गाठे रोग मधेशमा समस्याको रूपमा देखिएको छैन |
विभिन्न अध्यनका अनुसार यस जुकाले भन्टामा १५%, गोलभेडामा २०-३०% सम्म उत्पादनमा गिरावट ल्याउन सक्छ |
रोगको व्यवस्थापन
- जुकाका अन्डा धेरै वर्षसम्म पनि खेतबारीमा मुख्य बालीको अभावमा पनि जीवित रहन सक्ने भएकाले यस्ता बढी संक्रमित खेतबारीमा जुकाले आक्रमण गर्न नसक्ने बाली (गहु, मकै) संग बाली चक्र अपनाउने
- जुकाको प्रकोप बढी भएको खेतबारीमा बेर्ना तयार नगर्ने
- गर्मि मौसममा वा चर्को घाम लागेको अवस्थामा खेत बारी खनजोत गर्ने जसकारण अन्डाहरु जमिनमाथि देखिएर बस्छन् र घामको ताप वा चराद्वारा मारिन्छन्
- सयपत्रीसंग मिस्रित बाली लगाउने; सयपत्रीका जराले निस्कासन गर्ने केहि रसायनहरुले जुकाका अन्डा तथा जुभेनाइललाई मार्ने गर्दछ
- कन्ये च्याउको उत्पादन पछि खेर जाने पराललाई खेतबारीमा जोत्ने बेला मिसाउने; सयपत्रीको जराले जस्तै कन्ये च्याउको ढुसीले पनि च्याउ उत्पादनका क्रममा निकाल्ने रसायन परालमा उपस्थित भई जुकालाई मर्ने गरेको अध्यनले देखाउंछ
- गोलभेडाको बोटलाई जुका अवरोधक जंगली भन्टा (Solanum sysimbriifolum) को जरासंग कलमी गरेर तयार पारिएको बेर्ना प्रयोग गर्ने
- तोरी वा रायोको पिना २५०-३०० ग्राम प्रति वर्ग मिटर क्षेत्रफलको दरले प्रयोग गर्ने
- काँचो गाईवस्तुको मल-मुत्र वा बायो ग्यास स्लरी २ के.जी. प्रति वर्ग मिटर क्षेत्रफलका दरले खनजोत गर्ने बेलामा प्रयोग गर्ने
- बेर्ना रोप्नु अघि रायोको बिउ पिनेर प्रति बोट २० ग्राम माटोमा मिसाउने
- Abamectin 20% GR, Fipronil 0.3 GR जस्ता किटनासकको प्रयोग गर्ने
- बाली काटीसकेपछि रोग लागेका जरा खनजोत गरेर संकलन गरी खाल्टोमा पुरेर वा जलाएर नस्ट गरिदिने
- यस रोगका परजीवी जुत्ता, कपडा, कृषि औजार, हात लगायतमा टासिएको माटो मार्फत नयाँ खेतबारीमा सर्ने हुदा खेतबारीमा काम गरिसकेपछि राम्ररी हात खुट्टा तथा कृषि औजार सफा गर्ने
- पानी तथा खाद्य तत्वको अभावमा रोगको जटिलता बढ्ने भएकाले समय-समयमा पानी तथा खाद्य तत्व प्रयोग गर्ने
(लेखक आशिष घिमिरेले कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट बाली रोग विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् भने लेखक सुनिल कुमार यादवले कृषिमा स्नातक गरेका छन् |)