धनुषा- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन तथा शिक्षण अस्पताल निर्माणको काम सुरु नहुँदै विवादित बनेको छ । जनकपुरधाम उपमहानगरपालिका–१३ रानीबजार स्थित करिब १९ बिघा जग्गामा भवन तथा शिक्षण अस्पताल निर्माणको लागि काम थाल्नु अघि नै तारवार लगाउने कार्यलाई स्थानीयवासीले अवरोध गरेका छन् ।
निर्माण कार्य अघि बढाउनु अघि गुठी संस्थानले प्रतिष्ठानलाई लिजमा दिएको जग्गामा घेरा हाल्नका लागि लगाइएको पिलर स्थानीयवासीहरुले उखालेर फालेपछि निर्माण नहुँदै विवाद सिर्जना भएको छ । गत माघ २५ गते घेरा हाल्न पुगेका कामदारलाई स्थानीयवासीले अवरोध उत्पन्न गरेपछि कामदारहरु फिर्ता भएको प्रतिष्ठानका मरम्मत सम्भार ईन्चार्ज संजय यादवले जानकारी दिए । उनले भने,‘हामीले २४ गते सो जग्गामा करिब पाँच वटा पिलर लगाएर एक तर्फबाट घेरा हाल्ने कार्य सुरु गरेका थियौं तर त्यसको भोलिपल्ट त्यहाँ जाँदा सो पिलरहरु उखालेर फालिएको भेटेपछि हामी काम नगरी फिर्ता भयौं ।’ गुठी संस्थानले प्रतिष्ठानलाई लिजमा दिएको सो जग्गा जानकी मन्दिर अधिनस्थ रहेको र सो १९ बिघा जग्गा स्थानीयवासीले वर्षौदेखि भोगचलन गरी मन्दिरलाई कुत बुझाउँदै आएकोले जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले हामीलाई प्रदान गरेकोले उनले जानकारी नदिएसम्म काम अघि बढ्न नदिने बताएका छन् । स्थानीयवासी रामप्रबोध राउतले यहाँका स्थानीयवासीले मनखपमा सो जग्गामा उत्पादन गर्दै आएको र कतिपय व्यक्तिको जीविकोपार्जनको मुख्य स्रोत यही जग्गा रहेको बताए । कसैले मनखप र कसैले बटैयामा जग्गाको भोगचलन गर्दै आएको जानकारी दिँदै उनले भने,‘प्रतिष्ठानको भवन तथा शिक्षण अस्पताल निर्माण नहोस भन्ने पक्षमा हामी छैनौं तर परापूर्वकालदेखि नै जग्गाको संरक्षण गर्दै नियमानुसारको कुत जानकी मन्दिरलाई बुझाउँदै आएका स्थानीयवासीहरुको जग्गा लिएपछि उनीहरुको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नसक्नु प¥यो।’ निर्माण कार्यमा विवाद नहोस त्यसको लागि हामीसंग समन्वय गरी प्रति परिवार दक्षता अनुसारको एकजनालाई जागिरकै व्यवस्था गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन् । सोको लागि मधेश प्रदेश सरकारले लिखित प्रतिवद्धता नगरेसम्म काम गर्न नदिने चेतावनीसमेत स्थानीयवासीले दिएका छन् । यता जउनपा–१३ का वडाअध्यक्ष जीतबहादुर राउतले यसबारे आफूलाई कुनै जानकारी नआएको बताए ।
उनले भने,‘अहिलेसम्म कुनै पनि निकायबाट शिक्षण अस्पताल निर्माण सम्बन्धी कुनै जानकारी नै आएको छैन त्यसैले यसबारे आधिकारिक रुपमा केही भन्न सक्दिन् ।’ गुठी संस्थान केन्द्रीय कार्यालय काठमाण्डुले २०७९ साल जेठ २३ गतेदेखि अगामी २५ वर्षसम्मको लागि वार्षिक २५ लाख ३४ हजार ८ सय ७० रुपैयाँ तिर्ने गरी लिजमा प्रदान गरेको देखिन्छ । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिका–१३ को सिट नं.१२७४–५ को कित्ता नम्बर २ को १–८–७–३,कित्ता नम्बर ६को ०–६– १२–३,कित्ता नम्बर ७ को ०–५–१७–३ ,सिट नम्बर १२७४–०४ को कित्ता नम्बर ६ को ८–८–३–२,सिट नम्बर १२७४को कित्ता नम्बर १ को ८–३–१३–३ गरी १८ बिघा १२ कठ्ठा १५ धुर २ कनमा जग्गा प्रतिष्ठानलाई उपलब्ध गराएको सम्झौतापत्रमा उल्लेख छ । गुठी संस्थानले उपलब्ध गराएको जग्गा मध्येको कित्ता नम्बर ६ को ०–६– १२–३ को जग्गा स्थानीय सोनेलाल राउतको नाउँमा जानकी मन्दिरले सट्टा भर्ना गरेर प्रदान गरेको देखिएको छ । २०३३ सालमै जानकी मन्दिरका तत्कालीन महन्त स्व.रामशरण दास वैष्णवले साविकको मुजेलिया गाविस –४(ख)को जिरायती जग्गाबाट कित्ता नम्बर ६२ को क्षेत्रफल २–९–७–० जग्गा मध्ये ०–५–० जग्गा मनखप बन्दोवस्त गरिएकोमा २०४५ सालमा नापी सर्भेहुँदा सो जग्गा ०–५–७–२ कायम भएको सोनेलाल राउतले बताए । उनले भने ,‘केही वर्ष अगाडि मणिमण्डप परिसरमा जनक दरबारको निर्माण हुने बेलामा सो निर्माण कार्य अवरुद्ध हुने देखिएपछि सट्टा भर्ना गरी कित्ता नम्बर ६ को ०–६–१२–३ जग्गा मलाई दिइएको छ ।’ सट्टा भर्ना गर्नु अघिको जग्गाको लालपूर्जा रहेको र अहिलेको कित्ताको जग्गाको लालपूर्जाको लागि प्रक्रिया अगाडि बढाइसकिएको उनले दाबी गरे । त्यसैगरी, रामध्यान राउत,रामवृक्ष राउत,बासुदेव राउत,जोगीन्दर राउत,प्रदीप राउत,केसवर राउत,राम विलास राउत,गणेश राउत,फेकु राउत ,श्याम राउत,गुजरी देवी राउतलगायतको पचास जना परिवारहरुले मनखपमा जानकी मन्दिरलाई कुत बुझाउने गरी सो जग्गा भोगचलन गर्दै आइरहेका छन् । एउटै कित्ता नम्बरको जग्गा दुबै तिर दिइएको देखिएपछि प्रतिष्ठानको भवन निर्माणको काममा विवाद बढ्ने सम्भावना देखिएको स्थानीयवासी श्रीप्रसाद राउतले बताए ।
यता सो जग्गा विवाद बारे जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले गुठीले कसलाई दिएको हो जग्गाबारे आफूलाई कुनै पनि जानकारी नरहेको बताए । देशभरिको १५ सय बिघा जग्गा सरकारले मन्दिर सञ्चालनको लागि निकालेको थियो । सो मध्ये जानकी मन्दिर सञ्चालनका लागि ५१ बिघा प्रदान गरिएको उनले बताए । प्रतिष्ठानको एक जना कर्मचारीले आफूलाई केही दिन पहिला आएर तपाईले भनेपछि उनीहरुले विरोध नगर्ने बताए पछि मैले सो कर्मचारीलाई भनेको थिएँ कि यो जग्गा मन्दिरको सञ्चालनको लागि दिइएको हो तपाई गुठी संस्थानबाट आधिकारिक रुपमा पत्र लेख्न लगाउनुस यो जग्गा कुनै संस्थालाई दिइसक्यौं अनि सो वापतको यति रकम आउने भएको र जानकी मन्दिर सञ्चालनका लागि गुठीले नै व्यवस्था गर्नेछ भनेर जवाफ दिएको महन्त दासले स्पष्ट पारे । अहिलेसम्म सोही जग्गाहरुको भरमा मन्दिर सञ्चालनमा रहेको बताउँदै महन्त दासले भने,‘ यदि गुठीले सो जग्गाको कुत मन्दिरको भोगका लागि व्यवस्था गरिदिए हामीलाई अरु के चाहिन्छ।’ गुठीका कर्मचारीहरु मन्दिर दर्शन गर्न आउँदा अनौपचारिक रुपमै मैले यसबारे जानकी मन्दिरलाई पत्राचार गरी जानकारी गारइदिनुस भनि आग्रहसमेत गरेको तर अहिलेसम्म मन्दिरलाई सो बारे जानकारी नै नआएकोले आफूले रानीबजारका स्थानीयवासीहरुलाई केही पनि नभनेको प्रष्ट पारे ।गुठीले जग्गा लिजमा लगाएको हो कि बेचेको हो या कसलाई दिएको भन्ने हामीलाई कुनै जानकारी नै नरहेको महन्त दासले बताए । जानकी मन्दिरको जम्मा २४ बिघा जग्गा रहेको सो मध्ये चारपाँच बिघा मणिमण्डपको सौन्दर्यकरणको भवन निर्माणमा गएको केही जग्गामा विगत ५०÷६० वर्षदेखि नै कुर्मी टोलको वास रहेको बताउँदै महन्त दासले भने,‘गुठीले ती जग्गाहरु छुट्याएर दिनुपर्ने थियो तर अहिले आएको जानकारी अनुसार वस्ती पनि छुट्याइएको छैन त्यसैले त्यहाँ निर्माण कार्य गर्दा विवाद हुन सक्छ कि यसमा गुठी संस्थानले कार्यालयमै बसिबसि मनोमानी ढंगले निर्णय गरेको देखिएको छ ।’ गुठी संस्थानले १८ बिघा १२ कठ्ठा १५ धुर २ कनमा जग्गा प्रतिष्ठानलाई उपलब्ध गराएको भनेपछि रानीबजारका स्थानीयवासीहरुले भने जम्मा १६ बिघा जग्गा मात्रै बाँकी रहेको बताउंदै आएका छन् ।
जग्गा नछुट्याइएको कारणसमेत विवाद हुने सम्भावना बढेर गएको छ । महन्त दासले यसबारे आफूलाई जानकारी नआएको दाबी गर्दै आएका छन् भने मन्दिर प्रशासन स्रोतले दिएको जानकारी अनुसार उनले प्रतिष्ठानलाई सो जग्गा प्रदान गर्न सहमति जनाइसकेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले गुठी संस्थान केन्द्रीय कार्यालयबाट प्रतिष्ठानले लिखित सम्झौता गरी निर्माण कार्य गर्नलाई प्रदान गरेको जग्गामा कुनै विवाद नै नरहेको बताए । मधेश प्रदेश सरकारले अब छिट्टै त्यहाँ प्रतिष्ठानको भवन तथा शिक्षण अस्पताल निर्माणको कार्य थाल्ने बताउँदै उनले भने,‘यहाँ कसैले विवाद गर्ने ठाउँ नै छैन हामीले कुनै व्यक्तिगत प्रयोजनका लागि यो जग्गा लिएका होइनौ यो त सार्वजनिक कार्यकै लागि गुठीले भाडामा दिएको जग्गा हो जसको कुत प्रतिष्ठानले नियमाअनुसार तिर्नेछ र त्यहाँ हामीले काम अगाडि बढाउने छौं।’