काठमाडौं, ९ फागुन । फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् ।
प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी ८८४ जनाले मतदान गर्न पाउने भएपनि यस पटकको निर्वाचनमा ३ जना मतदाता कम हुनसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभाका २७५ मध्ये चितवन–२ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएको र मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बनमा परेकोले मतदान गर्न पाउने छैनन् भने अर्का एकजना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी रहेको छ ।जसको नाम आयोगले खुलाएको छैन ।
महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा पुगेको छैन ।
प्रतिनिधिसभा नियमावली २०७९ राष्ट्रपतिको निर्वाचन अगाडि नै पारित भएको खण्डमा उनले मतदानमा भाग लिन पाउने छैनन्। नयाँ नियमावलीमा कैद भुक्तान गर्नुपर्ने भनी अदालतबाट फैसला भएको र फरार रहेका सांसद निलम्बनमा पर्ने व्यवस्था छ ।
राष्ट्रपति निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी, विरोध र उजुरीका काम हुनेछन् । उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुनेछ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्न आयोगले कार्यतालिका छ । राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ ।
निर्वाचन बानेश्वरस्थित संघीय संसद भवनमा हुनेछ । आयोगले त्यहाँ सोमबार नै निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिसकेको छ ।