महोत्तरी - नेपाली कांग्रेसका नेता बजरंग नेपालीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ भएको उम्मेदवार सिफारिसप्रति असहमति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालीले पार्टीभित्र सहमतिका नाममा गरिएको निर्णय पूर्वाग्रही, अप्रजातान्त्रिक, अदूरदर्शी, एकांगी र अपारदर्शी रहेको आरोप लगाएका हुन्। उनले आफू २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट सिफारिस भई टिकट प्राप्त गरी नामांकनसमेत गरिसकेको व्यक्ति भएको उल्लेख गरेका छन्।

नेता नेपालीका अनुसार वर्तमान समयमा गरिएको निर्णयले आफ्नो विगतको योगदान र राजनीतिक यात्रालाई बेवास्ता गरेको छ। उनले यस्तो निर्णयले पार्टीभित्र निराशा र असन्तुष्टि बढाउने चेतावनीसमेत दिएका छन्।
यसैबीच, नेपाली कांग्रेस क्षेत्रीय कार्यलय क्षेत्र नं. ३, जलेश्वर महोत्तरीबाट जारी पत्रअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का लागि प्रत्यक्षतर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस गरिएको छ। उक्त पत्रमा समानुपातिकतर्फ पुरुष र महिलाबाट विभिन्न नेताहरूको नाम सिफारिस गरिएको विवरण पनि उल्लेख गरिएको छ।
पार्टीभित्र उम्मेदवार छनोटको विषयलाई लिएर असन्तुष्टि सार्वजनिक रूपमा बाहिर आएपछि महोत्तरी कांग्रेसको आन्तरिक राजनीति थप तरंगित बनेको छ। स्थानीय कार्यकर्ता तथा नेताहरूबीच यस निर्णयले थप बहस र मतभेद चर्किने संकेत देखिएको छ।




