
जनकपुर - जनकपुरधाम स्थानीय र प्रहरी बीच झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरीले १ दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ।जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीका १९ वर्षीय आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै पीडित परिवारसँगै स्थानीयहरूले गरेको आन्दोलनको क्रममा झडप भएको हो ।

आइतबार बिहानैदेखि मृतक आँशुका आफन्त र स्थानीयहरुले जनकपुरधाम-जलेश्वर- भिट्ठामोड सडक अवरुद्ध गरेर आन्दोलित बनेका हुन् ।ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी बाटो खुलाउने प्रयास गरेपछि स्थानीयले ढुङ्गामुढा गरे पछि प्रहरीले आश्रुँग्यास फायर गरेका छन् । आन्दोलनकारी र प्रहरीबिच भएको झडपमा परी ६-७ जना प्रहरी घाइते भएका छन् । पीडित परिवार र स्थानीय महिला बसेको प्रहरीले टेण्ट हटादिएपछि आक्रोशित बनेका स्थानीयले प्रहरी माथि ढुङ्गामुढा गर्दै लखेटेका थिए । अहिले स्थानीयले बाटो अवरुद्ध गरेका छन् ।

सयौँ संख्यामा प्रहरी परिचालन गरेका छन् । हत्यामा संलग्न एक जनालाई प्रहरीले घटना स्थलबाटै पक्राउ गरेपनि अन्य ६ जनालाई पक्राउ नगरेको भन्दै उनीहरू सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । सडक अवरुद्ध पारेर गरिरहेका प्रदर्शनका कारण सवारीसाधन ठप्प भएको छ । गत फाल्गुन २ होलीका दिन रंगअविर खेल्ने क्रममा अंशुलाई स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गरी हत्या गरेका थिए। प्रहरीले धमेन्द्रलाई त्यहीँ दिन पक्राउ गरेपनि उनलाई हत्यामा सघाउने अन्य ६ जनालाई पक्राउ नगरेको भन्दै उनिहरु आन्दोलनमा उत्रेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहले अवरुद्ध सडक खुलाउन आन्दोलित पक्षसँग छलफल गरिरहेको बताए । उनले भने, ‘पीडित परिवारले ६-७ जनामाथि किटानी जाहेरी दिएको छ । घटनाका मुख्य आरोपितलाई पक्राउ गरिसकेका छौँ। अन्य आरोपितको खोजी भइरहेको छ ।’ स्थितीलाई नियन्त्रणमा लिन प्रहरी अहिलेसम्म कति सेल अश्रु ग्यास प्रहार भएको र घाइते भएको भन्ने विवरण एकिन नभएको धनुषाका प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।


