महोतरी : १५ दिवसीय मिथिला मध्यमा परिक्रमा महोतरीको एतिहाँसिक तथा प्राचिन कञ्चनवन पुगे संगै मिथिलाञ्चलमा होली खेल्न शुरु भएको छ । कञ्चनवनमा मधेश प्रदेशका मन्त्री, प्रशासन प्रमुख, साधुुसन्त र भक्तजन सहितकाले सामुहिक रुपमा होली खेलेका छन ।
१५ दिवसीय मिथिला मध्यमा परिक्रमाको १५ विभिन्न पराव(विश्रामस्थल)हरु मध्येको एक महत्वपुर्ण र पवित्र स्थल हो महोतरीको एतिहाँसिक तथा प्राचिन कञ्चनवन । आइतवार परिक्रमामा सहभागि विभिन्न मन्दिरका भगवान रामजानकीको डोला सहितका तिर्थालुहरु कञ्चवनमा पुगेर होली खेले संगै मिथिलाञ्चलमा रंगअविरको पर्व होली विधिवत शुरु भएको मानिन्छ ।
त्रेता युगमा भगवान राम र सिता कञ्चनवनमै होली खेलेको जनविश्वास अनुसार यहाँ भब्य रुपमा रंग अविर सहित होली खेलिन्छ । मधेश सरकारकी पर्यटन मन्त्री सुनिता यादव, धनुषा महोतरीका प्रमुख जिल्ला अधिकारी, तिनवटै सुरक्षा निकायका प्रमुखहरु, कञ्चवन पर्ने महोतरीको भंगहा नगरपालिकाका मेयर सञ्जीव साह, साधुसन्त र तिर्थालु सबै मिलेर होलीमा रंग अविर खेलेका छन् ।
साधुसन्तहरु संगसंगै तिर्थालु, दर्शनालुहरु समेत यहाँ विभिन्न होलीको गितागानमा रमाउदै रंग अविर खेल्छन् । सहभागीहरु रंग अविर किनेर भगवान रामजानकीलाई समेत चढाउछन् । कञ्चनको अर्थ सुन हुनाले यो सुनैसुनको बन रहेको र यहाँ भगवान सिताराम आएर होली खेलेको जनबिश्वास छ । रामजानकी पछि अयोध्या गएपनि तात्वीक रुपमा कञ्चनवनमै विराजमान रहेकाले सम्पुर्ण मिथिलालाई कञ्चनवन समेत भनिन्छ, सुन्दर सदन अग्नि कुण्ड मन्दिर जनकपुरधामका महन्त नवलकिशोर शरणले बताए ।
कञ्चनवनलाई पर्यटकीय गन्तब्यका रुपमा चर्चामा ल्याउन सरकारले पहलकदमी लिनुपर्ने साधुसन्तहरुको मांग छ । प्रत्येक वर्ष कञ्चनवनमा मात्र करिव ५ लाख पर्यटक आउने गरेको भन्दै प्रदेशका यस्ता धार्मिक स्थलवाट राज्य बेखवर रहेको गुनासो उनको थियो ।
कञ्चनवनमा आयोजित समारोहलाई सम्बोधन गरेका भंगहा नगरपालिकाका प्रमुख सञ्जिव साह सहित साधुसन्तहरुले लाखौं पर्यटक र तिर्थयात्री आउने यस्ता धार्मिक एतिहाँसिक धरोहरहरु अहिले सम्मका सरकारको प्राथमिकतामा पर्न नसक्नु दु:खद रहेको बताए ।
मिथिला विहारी र किशोरी जीको डोलाको अगुवाईमा कञ्चनवन पुगेको परिक्रमा अव मंगलवार धनुषाको पर्वता त्यसपछि धनुषाधाम, सतोषर, औरही र पुन: भारतको विसौल तथा कलानेश्वर हुँदै जनकपुरधाम आएर जनकपुरधाम नगरको अन्तरगृह परिक्रमा गर्दै समापन हुने छ ।