महोत्तरी- हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान अन्तरगत औरही नगरपालिका भित्र रहेको बिधालयहरुमा अध्यनरत बिधार्थीहरुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी खुवाइएकाे छ । फाल्गुन ११ गते देखी राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत औरही नगरपालिका भित्र रहेको सामुदायिक बिधालय र निजि बिधालयहरुमा अध्ययनरत बिधार्थीहरुलाई हात्तीपाईले रोग बिरुद्धको आम औषधि खुवाउने काम गरेको छ ।
क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीरको कुनै एक भाग वा अङ्गमा लाग्ने र त्यो अङ्ग सुनिँदै जाँदा यो हात्तीपाइले रोग बिरुद्धको आम औषधी राष्ट्रिय अभियान चलाएर खुवाईदै छ । औरही नगरपालिका स्वस्थ शाखा प्रमुख चन्द्रभुषण ठाकुरका अनुसार औरही नगरपालिकाको ९ वटै वडाका स्वास्थ चौकीमा कार्यरत स्वास्थकर्मीहरुको टोली बिधालयमा अध्ययनरत पाँच बर्ष देखी १५ बर्ष सम्मका बिधार्थीहरुलाई औषधी सेवनगर्ने मापदण्ड अनुसार हाईट नाप जाँच गरेर आफ्नै निगरानमिा औषधी खुवाउने गरेको ठाकुरले बताए । यो औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला , सात दिनको सुत्केरी र सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । साथै खाली पेटमा पनि यो औषधि न खान समेत आग्रह गरिएको छ ।
शरीरमा हात्तीपाइले रोगको जिवाणु रहेका व्यक्तिले औषधि सेवन पश्चात् सामान्य केही लक्षण देखिने हुँदा न आत्तिन पनि आग्रह गरिएको छ । नेपालमा सन् २०१२ बाट हात्तीपाइले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । देशभर कूल ६३ जिल्लामा हात्तीपाइलेको प्रभाव देखिएकोमा महोत्तरीमा समेत जोखिम कायमै रहेको छ । हात्तीपाइले रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लागेको ६ देखि १० वर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोगलाग्नु भन्दा अघि नै औषधि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
हात्तीपाइले शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने स्वास्थकर्मीहरुको भनाइ छ ।
यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन। यो परजीवी करीब ६ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छ । यो परजीवी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता सामान्य असर देखापर्न सक्ने जानकारी गराइएको छ ।