दिवेश कुमार महतो
ढल्केवर- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र वटेशवर गाउँपालिका को समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
धनुषाको वटेश्वर गाँउपालिका स्थित रहेको गाँउपालिकाको सभाहलमा संचालन भएको तालिम मिति २०७९ फागुन १७ र फागुन १८ गते अर्थात दुई दिन चलेको थियो। समापन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशकी प्रमुख मञ्जु खतिवडाले इन्सेकले गरेको कामप्रति प्रसंशा गर्दै, तालिममा सहभागी भएकाहरुलाई सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएकी थिइन्।
विशिष्ट अतिथिको रुपमा रहेको गाँउपालिका अध्यक्ष रामअशिष महतोले शिक्षा आर्जन गरेको कुरालाई व्यवहारमा उतार्न सफल भए मात्र आर्जन गरेको शिक्षा को महत्त्व रहने बताउनुभयो। साथै मानव अधिकार भन्दा ठुलो कुनै अधिकार नै नरहेकोले गाँउपालिकाले पनि यस क्षेत्रमा आफू लागि परेको र आवश्यक परेको बेला साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेक हातेमालो गर्न, समन्वय र सहकार्य गरेर समाधान पहिल्याउन तत्पर रहेको बताउनुभयो।
संयोजक पासवानले समुदायमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणका सवाल, विभेद विरुद्धको अधिकार लगायतका सवालमा सेवाग्राही र सेवाप्रदायक निकायबीच देखिएका समस्यामा सहजीकरण गर्ने गरी मानव अधिकार शिक्षा कार्यक्रम संचालन गरिएको बताए । स्थानीय समुदायलाई सचेत बनाउदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणका सवालमा मागदावी गर्ने बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको संयोजक पासवानले बताउनुभयो।
दुई दिने तालिममा मधेस प्रदेश संयोजक पासवानले इन्सेकको परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता, महिला विरुद्धका हिंसाका घटनामा कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी समेत गराउनुभएको थियो।
यसैगरी इन्सेक मधेस प्रदेश कार्यलयको सहायक अधिकृत बरुण बस्यालले मौलिक हक तथा कर्तव्य, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र नगरपालिकाको भूमिकाका बारेमा सहजिकरण गर्नुभएको थियो।