योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलवार सामाजिक सुरक्षा काेष जनकपुर कार्यालयको आयोजनामा सातौँ सामाजिक सुरक्षा दिवस मनाइँएकोछ।
मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री काैशल कुमार रायको प्रमुख आतिथ्यता र कोषका बरिष्ठ सहायक निर्देशक जय कृष्ण दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सन्दर्भमा प्रचार प्रसार तथा जन चेतना मुलक कार्यक्रमहरु संचालन गरिनु पर्ने बताएका थिए ।
कार्यक्रममा श्रम तथा यातायात मन्त्री रायले सातौँ सामाजिक सुरक्षा दिवसको शुभकामना व्यक्त गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेकोले सबैले यसमा आबद्ध हुन आवश्यक रहेको बताए ।
विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागकिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ ।
कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् । सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आबद्ध भएका बरिष्ठ सहायक निर्देशक जय कृष्ण दुलालले जानकारी दिए ।
कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले हालसम्म एक लाख ८० हजार नौ सय २२ श्रमिकलाई विभिन्न सुविधा योजना अन्तर्गत रु ११ अर्ब ६२ करोड दाबी भुक्तानी गरिसकेको छ । कोषमा रु ६८ अर्ब ६८ करोड योगदान रकम जम्मा भइसकेको छ ।
कोषको जनकपुर कार्यालय प्रमुख कैलास यादवको स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारीबाट सुरु भएको उक्त कार्यक्रममा धनुषाका सहायक प्रजिअ विजयराज सुवेदी, नेपाल बार एशाेसियशन धनुषा का अध्यक्ष बिमल मिश्र, राष्ट्रिय अनुन्धान धनुषाका प्रमुख निभा झा, नेपाल उद्योग परिसंघ मधेस प्रदेशका अध्यक्ष प्रमोद साह, जेटियुसिसिका अध्यक्ष विजयकुमार यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।