
जनकपुरधाम- मधेस प्रदेश सरकारले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै नेपाली टोलीलाई बधाई ज्ञापन गरेको छ ।
नेपाली टोलीलाई बधाई ज्ञापनको साथै आईसीसी क्रिकेट विश्वकप-२ एकदिवसीय प्रतियोगितामा सहभागी मधेस प्रदेशका खेलाडी गुल्शन झा र आरिफ सेखलाई प्रदेश सरकारले २/२ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेको छ।
नेपालले सानदार जित हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै मधेस प्रदेसका दुबै खेलाडीलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् ।
विश्वकप छनौट प्रतियोगितामा बिहीबार यूएईमाथि गौरवपूणर् जित हासिल गरेकोमा मुख्यमन्त्री यादवले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिंदै मधेस प्रदेशका खेलाडी गुल्शन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गरे ।
मुख्यमन्त्री यादवले भने, ‘तपाईंहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ ।’ कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे ।
मधेस प्रदेश सरकारले यस प्रदेशका खेलाडी गुल्शन झाको तेजस्वी तथा सौर्यपूणर् खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताए । मुख्यमन्त्री यादवले मधेस प्रदेशका अर्का खेलाडी आरिफ सेख समेतले आफ्नो खेलद्वारा मधेसको मान बढाएकोमा खुशी व्यक्त गरे ।
मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र सेखलाई प्रोत्साहनस्वरुप मधेस प्रदेश सरकारको तर्फबाट जनही २/२ लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले बताए।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) लाई रोमाञ्चक ९ रनले पराजित गरेको हो । यो जितसँगै नेपालले एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने पक्का भएको हो । यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो ।