सिरहा। चुरे तथा वनजंगल संरक्षण अभियानीहरूले सिरहामा विरोध प्रदर्शन गरेका छन् ।
भूमि अधिकार तथा चुरे वनजंगल संरक्षण लगायतको ५ सूत्रिय मागसहित चुरे तथा वनजंगल संरक्षण अभियानीहरूले सोमबार सिरहाको सदरमुकाम सिरहामा विरोध प्रदर्शन गरेका हुन् ।
जनआवाज आन्दोलनअन्तर्गत अभियानका सह–संयोजक शनिचरि देवीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए ।
संयोजक यादवले प्रदेश सरकारसँग भूमी व्यवस्थाको अधिकार हुँदाहुँदै केही गर्न नसक्नु सरकारको निक्कमापन रहेको आरोप लगाए ।उनले निर्वाचनका क्रममा सुकुम्बासी तथा पीडित जनताका समस्याप्रति गम्भिर नरहेको आरोप समेत लगाए ।
चुरे तथा वन जंगल संरक्षण अभियान र मधेस प्रदेश सरकारबिच विगतमा भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउनुपर्ने र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने लगायतका मागहरू अगाडी सार्दै आइरहेका छन् ।
भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने भन्दै सुकुम्बासी आन्दोलनकारीहरू फागुन ११ गतेदेखि जनकपुरधामको जनकचोकमा धर्नामा बसेका छन् ।