महोत्तरी । महोत्तरी प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्यिाइएको साढे चार लाख भन्दा बढी मूल्यबराबरको टायल्स बरामद गरेको छ । जलेश्वर नगरपालिका–२स्थित जय माँ ईन्टर प्राईजेजका सञ्चालक सूर्य नारायण साहले भारतबाट भन्सार छली गरी ल्याएको २ सय ८२ कार्टुन टायल्स प्रहरीले सोमबार बरामद गरेको छ ।
बरामद गरिएको टायल्स ४ लाख ६ हजार ४ सय मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईले दिएको जानकारी अनुसार टायल्स बोकेर ल्याउने भारत बिहारको सितामढी सिर्खण्डी भिठामोड–५का १९ वर्षीय प्रभात कुमार, सोही ठाउँका १९ वर्षीय विभु कुमार र १९ वर्षीय साजन कुमार महतोलाई समेत नियन्त्रणमा लिइएको छ । यिनीहरुले साइकलमा बोकेर सामान नेपाल ल्याएको जनाइएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ ।



त्यसैगरी महोत्तरी प्रहरीले सम्सी गाउँपालिका–३ बैरगिया स्थित भारतबाट भन्सार छली गरी नेपाल तर्फ प्लाष्टिकको क्यारेटमा ल्याइएको ५० किलो कुखुरा बरामद गरेको छ । नियन्त्रणमा लिइएको कुखुरा नष्ट पारिएको छ । यसैबीच मनराशिस्वा नगरपालिका–१० स्थित बथनाहा दशगजामा जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी बथनाहा महोत्तरीबाट खटेको संयुक्त टोलीले १ लाख बराबरको मदिरा नियन्त्रणमा लिएको छ ।
३२ वटा बोरामा राखिएको ९६ कार्टून सोफी रक्सी नेपालबा खटिएको संयुक्त प्रहरी टोलीले अबैध रुपमा १३ वटा भारतिय मोटरसाईकलमा ३२ बोरामा ९६ कार्टुन सोफी मदिरा नियन्त्रणमा लिएको जनाइएको छ । सो मदिरा भारततर्फ लैजान लागेको जिप्रका महोत्तरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामानहरुलाई भन्सार कार्यालय मलिवारामा पठाउने तयारी भइरहेको जनाइएको छ ।
त्यस्तै आइतबार प्रहरीले सम्सी गा.पा.– ५पोखरभिण्डा स्थित सोही ठाउँका सुनिल यादवले संचालन गरेको ममता पोल्ट्री फर्मको ताल्चा फुटाई अपरिचित व्यक्तिले भारतबाट भन्सार छली गरी ल्याई राखेको ७ स ६० किलो ग्राम खैनी बरामद गरेको थियो । बरामद गरिएको खैनी १ लाख ६७ हजार मूल्य बराबरको रहेको सूचना अधिकारी राईले बताए ।




