काठमाडौं-पोखराकी एक १५ वर्षीय किशोरी सुरक्षा थापालाई दुर्व्यवहार गर्ने सोही उमेरका भाइ पक्राउ परेका छन्। पीडित किशोरीले दिएको जाहेरीको आधारमा ती किशोर पक्राउ परेका हुन्।
आइतबार (५ फागुन) मा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको कास्की प्रहरी प्रवक्ताले नेपाल भ्यूजलाई बताए। टिकटक युजर आइडी ‘सुरक्षा थापा’ बाट भिडिओ पोस्ट गर्दै किशोरीले घटना सार्वजनिक गर्दै सहयोगको याचना गरेकी थिइन्।
पोखराकी १५ वर्षीया किशोरीको चित्कार : भाइबाटै दुर्व्यवहारमा परेँ, परिवारले साथ दिएन सामाजिक सञ्जालबाट आफू हिंसामा परेको भन्दै भिडिओ सार्वजनिक गरेपछि कास्की प्रहरीले ती किशोरीलाई सम्पर्क गरेको थियो। अभिभावकै साथ नपाएको गुनासो गरेकी ती किशोरीले प्रहरीको साथ पाएपछि जिल्ला प्रहरी कार्यालय कासकीमा आइतबार जाहेरी दिइन्।
लगतै उनका मामाको छोरा (भाइ) पक्राउ परेका हुन्। सुरक्षाले आफूलाई मामाघरको भाइले संवेदनशील अङ्गमा समाउने र जिस्काउने गर्दै आएको जाहेरीमा उल्लेख गरेकी छिन्। आफ्नो कुरा घरमा कसैले नसुन्ने र मामाले पनि ज्यान मार्ने धम्की दिएको पीडितको आरोप छ। किशोरीको भिडिओ सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न तीव्र दबाब दिएका थिए।