
मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष जयकुमार यादवले भूमिहीन दलितमुसहर) वस्तीका वासिन्दाहरुलाई आवासको व्यवस्था मिलाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
खाद्य अधिकारको वकालत गर्दै आएका फियान नेपाल नामक संस्थाको अगुवाइमा बिहीबार अधिकारकर्मीहरुको निरीक्षण अनुगमनको क्रममा अध्यक्ष यादवले सो प्रतिबद्धता व्यक्त गरेका छन् । ‘गाउँब्लकको जग्गाको लालपुर्जा बनाउन अत्यन्त कठिन कार्य छ त्यसैले कुनै अर्को ठाउँमा एकीकृत वस्ती बनाएर भूमिहीनहरुको आवासको समस्या समाधानको लागि म प्रतिबद्ध छुँ ।’
एक करोड दुई करोड जतिको बजेटमा काम गर्नु परे पनि भूमिहीनको आवासको लागि म व्यवस्था गर्न तयार छु तर वस्ती सरेर अन्यत्र जानु पर्ने हुन्छ जसको लागि दलितहरु तयार नरहेकोले आवासको व्यवस्थापनमा समस्या देखिएको उनले बताए । अध्यक्ष यादवले हाल बसोवास गर्दै आएको जग्गाको लालपुर्जा बनाउनका लागि सिफारिशसमेत भइसकेको र आवासको लागि पहलसमेत प्रारम्भ गरिसकेको स्पष्ट पारे ।
गाउँब्लकको जग्गाको लालपुर्जा बनाउन कठिनाइ देखिएकोले तत्कालकालागि अन्य ठाउँमा घर निर्माण गरी आवासको व्यवस्था मिलाउनु पर्ने अवस्था रहेको अध्यक्ष यादवको कथन थियो । यता अनुगमनमा पुगेका अधिकारकर्मीहरु समक्ष भूमिहीन मुसहर समुदायका व्यक्तिहरुले बसोवास गर्दै आएको गाउँब्लकको जग्गाको लालपुर्जा दिनु पर्ने माग गरेका छन् । उनीहरुले लालपुर्जा नरहेकै कारण त्यहाँ कुनै पनि संरचना गर्न नपाउने गुनासो गरे । घर निर्माण मात्र होइन चापाकल समेत राख्न नपाउने भएकोले खानेपानीको समेत समस्या भएको गुनासो दलित वस्तीका राजकुमारी सदाले पोखिन् ।
करिब साढे तीन कठ्ठा गाउँ ब्लकको जग्गामा बसोवास गर्दै आएका २२ घरधुरीमा १ सय ४० जना भन्दा बढी व्यक्तिहरुको रहेको बताइएको छ । सानो ठाउँमा घनावस्ती भएको कारण सम्पूर्ण वस्ती नै विभिन्न प्रकारको समस्या भोग्दै आएका छन् । त्यसैगरी अनुगमन टोलीले वडा नम्बर ३ स्थित कष्टकर जीवन विताउँदै आएका ९ वटा घर परिवारको आवासको व्यवस्था मिलाउनसमेत पहल थालिएको बताइएको छ ।
९ घरपरिवार डोम समुदायका व्यक्तिहरुलाई एक परिवार एक जनालाई पालिकामा जागिर दिने प्रतिवद्धता अनुसार सातजनालाई जागिर दिइसकिएको छ भने दुई जनाको जागिरको लागि प्रक्रिया अगाडि बढिसकेको अध्यक्ष यादवले जानकारी दिए । जनता आवास कार्यक्रम अन्तर्गत डोम समुदायको घर तोडेर नयाँ घर बनाउन जग बसाएर अलपत्र हुँदा कष्टकर जीवन यापन गरी रहेकाले तत्कालै बास र त्रिपाललगायतको व्यवस्था गाउँपालिकाबाटै गरिएको उनले जानकारी दिए ।
डोम समुदायको जीवनस्तर उकास्नका लागि पालिकामा जागिर दिने र दलित समुदायको शिक्षा, स्वास्थ्यलगायतको सवालमा आमूल परिवर्तनका लागि पहल गर्ने बताए । दलित वस्तीहरु अव्यवस्थित भएकाले चाँडै भूमिहीनहरुलाई पालिकाको तर्फबाट जग्गा दिने र बसोवास क्षेत्रलाई व्यवस्थित गरि नुको साथै आधारभूत सेवा सुविधा उपलब्ध गराउने उल्लेख गरे ।