
जनकपुरधाम- जनमत पार्टीका अध्यक्ष समेत रहेका सांसद सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा भाग लिँदै राउतले उपेन्द्रलाई ३/४ महिना पनि मन्त्रीबिना बाँच्नै नसक्ने भनेर कटाक्ष गरे ।
बारा २ उपनिर्वाचनको प्रसङ्ग जोड्दै राउतले उपेन्द्रलाई ल्याउनै निम्ति बारा २ मा वैशाख १० मै उपनिर्वाचन तोकिएको बताए । ‘बारा २ मा सांसद पद खाली भएको सूचना संसद्मा गएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै निर्वाचनको कार्यक्रम वैशाख १० मै घोषणा गरिसकेको छ, यही रफ्तारमा अरु काम पनि धेरै भइदियो भने त राम्रो हुन्थ्यो,’ उनले भने ।
उनले थपे, ‘कोही ३/४ महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन ।’
तनहुँ र चितवनसँगै बारा २ मा पनि वैशाख १० मै निर्वाचन हुँदैछ । त्यहाँ गठबन्धनको तर्फबाट उपेन्द्र उम्मेदवार बन्ने चर्चा छ । जनमतसहितका अन्य मधेशकेन्द्रित दलहरू भने उपेन्द्रलाई रोक्न मोर्चाबन्दी भएका छन् । जसपाबाटै छुट्टिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले छुट्टै उम्मेदवारी दर्ता गर्ने निर्णय नै गरिसकेको छ ।
गत मंसिर ४ मा भएको निर्वाचनमा त्यहाँबाट जसपाकै रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । उनी अहिले उपराष्ट्रपति निर्वाचित भएका छन् ।