
जनकपुरधाम- नेपालका लागि अमेरिकी राजदूत डिन थोम्सनले लोकतन्त्रलाई बलियो बनाउन तथा जनतालाई नजिकबाट सेवा गर्नमा नेपालको स्थानीय निकाय सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।
अमेरिकी राजदूत थोम्सनले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, वडाध्यक्षहरुसंग आज जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा भेटघाट गर्दै लोकतन्त्रको हरेक गतिविधिमा अमेरिकाको साथ र सहयोग रहने बताउनुभयो।
राजदूत थोम्सनले अमेरिकी राष्ट्रपतिले नेपालको लोकतन्त्रको सुदृढीकरण र विकासमा साथ दिने प्रतिबद्धता पटक पटक गर्दै आउनुभएको बताउँदै स्थानीय तहले जनताको सेवा प्रदान गर्ने सबैभन्दा नजिकको सरकार भएको र यसले लोकतन्त्र बलियो बन्ने बताए ।
राजदुतसंगै उनकी धर्मपत्नी समेत जनकपुरधाम आएका छन् । कार्यक्रममा जनकपुरधामका उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाले गरेको कामकाज तथा जनकपुरधामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व, चाडपर्व र उत्सवको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्न कुमार शशीले जनकपुरधाम उपमहानगरपालिकाको भौगोलिक अवस्था, जनसङ्ख्या, सेवाको अवस्था तथा ऐतिहासिक पृष्ठभूमिका विषयमा जानकारी गराएका थिए ।
भेटघाटमा जनकपुरधाम उपमहानगरपालिकाको २५ वडामध्ये अधिकांश वडाका अध्यक्षहरू सहभागी थिए । त्यस अवसरमा अमेरिकी विकास नियोग युएसएडका नेपालस्थित प्रमुख सेफिडिला क्यान्सादको पनि उपस्थिती थियो ।