काठमाडौं- वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन, तनहुँ र बारामा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। तामझाम सहित उम्मेदवारी दर्ता गर्न गएका अधिकांश उम्मेदवार पुरानै र मंसिरमा पराजित भएका नै देखिए।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट उम्मेदवारी दर्ता गराए। उनी गएको मंसिर ४ को निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए । ०४८ मा सुनसरी, ०७० मा मोरङ र ०७९ मंसिरमा सप्तरीबाट उनी पराजित भएका थिए।
जसरी पनि संसद् छिर्ने यादवकै चाहनाअनुसार यो क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपेन्द्रले आफ्नो संसद् यात्राको बाटो ‘क्लियर’ गरेका हुन्। उनी सांसद हुनका लागि सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा भए पनि जनमत पार्टीको भने छुट्टै उम्मेदवार छ।
यादवसँगै प्रतिस्पर्धाका लागि यहाँ नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि उम्मेदवार हुन पुगेका छन्। उनी पनि पाँच महिना अगाडि मात्रै काठमाडौं-१ मा पराजित भएका उम्मेदवार हुन्। सुशासन पार्टीका अध्यक्ष रहेका खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्।
यही क्षेत्रमा उम्मेदवार रहेका शिवचन्द्र कुशवाहा पनि मंसिर ४ मा पराजित उम्मेदवार नै हुन्। माओवादी केन्द्रबाट उम्मेदवार भएर पराजित कुशवाहाले अहिले पार्टी नै परिवर्तन गरेर जनमत पार्टीको तर्फबाट फेरी उम्मेदवारी दिएका छन्।
हाल उपराष्ट्रपति भएका रामसहाय यादवसँग ३५४ मतले पराजित कुशवाहा ५ महिना अघिको हारलाई जितमा बदल्ने प्रयासमा छन्। यादवले १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए।
उता तनहुँ-१ मा पनि गएको निर्वाचनमा काठमाडौं ६ बाट पराजित सर्वेन्द्र खनाल उम्मेदवार छन्। नेपाल प्रहरीका पूर्व आईजीपी खनाल एमालेबाट पुनः उम्मेदवार बनेका हुन्।
उनीसँग अर्थविद डा.स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई प्रतिस्पर्धामा छन्। भट्टराई र वाग्लेले भने पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन्।
चितवन-२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार भएका छन्। मंसिर ४ मा निर्वाचित लामिछाने नागरिकता विवादमा दोषी ठहर भई सर्वोच्चको आदेशले पदमुक्त भएका थिए।
सोही कारण उपनिर्वाचन हुन लागेको यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन्। न्यौपाने र श्रेष्ठ भने पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।