
जनकपुरधाम- अनलाईन मार्फत ठगी धन्दा संचालन गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधामबाट २३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
पिडारी चोकमा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन मार्फत विभिन्न किसिमले ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेका छन् । जनकपुरधाममा मुख्यरुपमा पर्साको पकहा मैनपुर-५ बस्ने सत्यानन्द राम र धनुषाको सबैला घर भई जनकपुरधाममा बस्दै आएकी सञ्जु साहले यस गिरोहलाई संचालन गर्दै आएको प्रहरीले जनाएको छ।
यस गिरोहमा काम गर्नेहरु प्रायः २० देखि २८ वर्ष उमेर समुहका युवायुवतीहरु रहेका छन् । गिरोहका ५—७ जना युवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्विर आदानप्रदान मार्फत नग्न फोटो भिडियो बनाएर ब्लैकमेल गर्दै रकम उठाउने कार्य गर्दै आएको थियो।
उनीहरुले अवैधरुपमा विद्युतिय कारोबार मार्फत एक देशमा बसेर अर्को देशका नागरिकलाई विभिन्न एप बनाएर नग्न तस्विरहरु आदान प्रदान गरि ठगी गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
भारत लगायतका नागरिकलाई आफ्नो जालमा पार्नका लागि विभिन्न एप मार्फत पुरुष तथा महिलालाई हनि ट्रैप जस्ता विभिन्न प्रलोभन दिएर नग्न तस्विरहरु बनाई ब्लैकमेल गर्ने, ऋण लिनका लागि प्रोत्साहन गर्ने र हजारदेखि लाखौँ रुपैयाँसम्म असुल्नका लागि विद्युतिय कारोबार मार्फत धन्धा सञ्चालन गर्दै आएको यस सञ्जाललाई विभिन्न विद्युतिय उपकरणहरु सहित पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिए ।
उनीहरुले सञ्चालन गरेको कारोबारस्थलबाट प्रहरीले करिब ३५ थान डेस्कटप कम्प्यूटर, २० भन्दा बढी एन्ड्रोयड मोईबल लगायतका विद्युतिय उपकरण समेत बरामद गरेको छ ।

उनीहरुले विगत ३ महिनादेखि दिलाजी आइटी कम्पनी काठमाडौँ-८ को नाममा जनकपुरधाममा अवैधरुपमा यस्तो कारोबार सञ्चालन गरिरहेका थिए ।
काठमाडौँमा यस्ता गिरोह पक्राउ पर्न थालेपछि उनीहरु जनकपुरधाममा आएर विदेशीलाई टार्गेट गरि अवैध धन्धालाई अगाडी बढाउँदै आएको थियो ।
पक्राउ परेकाहरुलाई हिरासतमा लिई थप अनुसन्धान कार्य जारी रहेकाले विस्तृत विवरण पछि सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ ।