
जनकपुरधाम- रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलगी हुँदा २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।
माधवनारायण नगरपालिका–४ स्थित मानपुरमा स्थानिय जिउत मुखियाको घरबाट सल्किएको आगोले भिषण रुप लिएप्छि २१ वटा घर जलेर नष्ट भएको हो । यद्यपि स्थानीयले आगलगीबाट २१ घर जलेर नष्ट भएको बताए ।
आइतबार दिउँसो २ बजेको करिबमा मुखियाको घरमा खाजा बनाउनकालागि चुलोमा बालिएको आगोबाट घरमा आगलागी भएको थियो । मुखियाको घरमा लागेको आगो तिब्र हावाका कारण छिमेकको घरमा समेत फैलिएको थियो । आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको स्थानीयले बताए । जलेका अधिकांश घर कच्चीका घर रहेको रौतहटका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले जानकारी दिए । यद्यपि आगलगीबाट भएको क्षतिको विवरण अहिले आउन नसकेको उनले बताए ।
मानपुरमा लागेको सो आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको थियो ।
आगलागीका कारण कुनैपनि मानविय क्षति नभएपनि लाखौँको भौतिक क्षति भएको छ ।