महोत्तरी - महोत्तरीको औरही नगरपालिकाले बढ्दो चिसोलाई ध्यानमा राख्दै शीतलहर प्रभावित नागरिकलाई दाउरा वितरण गरेको छ। जाडो याममा शीतलहरको असर तीव्र बन्दै गएपछि नगरपालिकाले विपन्न तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्गलाई लक्षित गरी दाउरा वितरण गरेको हो।

नगरप्रमुख प्रदिप कुमार खड्काले शीतलहरका कारण गरिब तथा विपन्न वर्ग सबैभन्दा बढी प्रभावित हुने भएकाले नगरपालिकाले राहतस्वरूप दाउरा वितरण गरेको बताउनुभयो। “तराई–मधेस क्षेत्रमा जाडो याममा शीतलहर गरिब वर्गका लागि विपद् जस्तै हुन्छ, त्यसलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण सुरु गरेको हो,उहाँले भन्नुभयो।

उहाँका अनुसार नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्म दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने टोलहरूलाई प्राथमिकतामा राखी आगो बाल्दा टिकाउ हुने र लामो समयसम्म ताप दिने रुखका जरा वितरण गरिएको छ। चिसो मौसमले ग्रामीण भेगका बासिन्दामात्र नभई व्यापार–व्यवसाय गर्ने व्यवसायी तथा बजार क्षेत्रमा आवतजावत गर्ने यात्रुहरू समेत प्रभावित भएकाले बजार क्षेत्रमा पनि दाउरा वितरण गरिएको नगरप्रमुख खड्काले जानकारी दिनुभयो।

यसैबीच,स्थानीय रामबाबु चौधरीले नगरपालिकाले गरेको दाउरा वितरणले चिसोबाट राहत मिलेको बताउनुभयो।दैनिक ज्यालादारी गरेर गुजारा गर्ने हामीजस्ता विपन्न परिवारका लागि चिसो मौसम निकै कष्टकर हुन्छ। नगरपालिकाले समयमै दाउरा वितरण गरेकाले आगो बाल्न सजिलो भएको छ र धेरै राहत महसुस गरेका छौँ,उहाँले भन्नुभयो।

चिसो समयभरि नै नगरपालिकाले यस प्रकारको राहत कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख खड्काको भनाइ छ।
















