
जनकपुरधाम- ‘हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौ बाबु (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घरजानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ बाबु)’ मन्तोरिया रायले रुदै भनिन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय उपचार वापतको खर्च अस्पताललाई बुझाउन नसक्दा अहिले अस्पतालमा नै बन्धक बनेर बसिरहेकी छिन्।

माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिंदा गम्भिर घाइते अवस्थामा उपचारार्थ जनकपुरधाम मुरलीचोक स्थित न्यूरो अस्पतालमा भर्ना भएकी थिइन् । उनको अस्पतालमा उपचार राम्रो भएकोले ठीक पनि भईन् ।र उनलाई अस्पतालले फागुन २० गते डिस्चार्ज गरिदियो । तर अस्पतालको उपचार खर्न तिर्न सक्दा अहिले सम्म मन्तोरिया घर जान सकेकिछैनन्।
अस्पतालको उपचार खर्च वापतको ६ लाख ६९ हजार ३०० र फर्मेसीमा औषधिको २ लाख ५ हजार ७८२ तिर्न बाँकी छ । सो रकम नतिरी अस्पतालबाट उनि घर जान नपाउने अवस्थामा छिन्। मन्तोरिया तीन बालबच्चा र वृद्ध ससुरा संगै अस्पतालमा बन्धक भएर बस्न बाध्य छिन् । अस्पतालकोे बिल कसल तिरिदिने र कसरी घर जाने कुनै टुंगो छैन ।
यसरी दुर्घटनामा परिन् मन्तोरिया
आफ्नो कान्छो छोराको बालपोषण भत्ता लिन माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन् । बैंकमा खाता खोलेर अपराह्न ४ बजे पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडक खण्डमा बा. ६१ प ६६३३ नम्बरको मोटरसाइकलले ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी उनलाई मोटरसाइकलले ४०-५० मिटर पर सम्म घिसारेको थियो । यसरी सडकमा घिसारिए पछि उनको पेटमा ठाउँ ठाउँमा प्वाल परेर घाउ लाग्यो।
मोटरसाइकल धनुषा कै शहीदनगर नगरपालिका-१ बेमर्खी टोलका २५ वर्षीय दीपक कुमार रायले चलाइरहेका थिए भने सोही ठाउँ बस्ने ३५ वर्षीय गजेन्द्र यादव पछाडी सवार थिए । चालक तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनीहरु फर्केर अस्पताल आएनन् । दुर्घटना पश्चात मन्तोरियाकी ससुरा रामप्रसाद ठक्कर दिने मोटरसाइकल, चालक र पछाडि सवारमाथि किटानी जाहेरी प्रहरीमा दर्ता गराए ।
अंगभंग मुद्दामा चालक राय जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन् । मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झण्डै १० लाख रुपैयाँ अस्पताललाई तिरेको छ । तर अब कसैले सहयोग गरेमा बाहेक अरु कुनै उपाय छैन । मन्तोरियाले हात जोड्दै आफूलाई घर जाने वातावरण बनाइदिन गुहार मागेकी छिन् ।
सुरुमा दुर्घटनापछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो हस्पिटलमा अस्पतालले रेफर गरिएको थियो ।
घर कसरी जाने मन्तोरियाको चिन्ता
अहिले मन्तोरिया संगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । उमेरले ३० मात्र भएपनि रोग र भोकले मन्तोरियालाई हेर्दा निकै बृद्धा झै देखिन्छन्।
मन्तोरियाको सम्पत्तिको नाममा केवल दुईधुर घडेरीमा छाप्रो छ । मन्तोरियासँगै ८ वर्षीया छोरी वर्षा, ५ वर्षीय छोरा महेश्वर, ३ वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद राउत अस्पतालमा मै बस्न बाध्य छन् । रामप्रसादले जसोतसो बुहारीको हेरचाह गर्नुभएको छ, तीन नाति नातिना सम्हालेका छन्।
मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीको शिलसिलामा कतारमा छन् । गत कात्तिकमा रामबहादुर कतार गए देखि मन्तोरियाले घर सम्हाल्दै आएकि थिइन् तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन् ।
के भन्छन् अस्तपाल प्रशासन
अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिय अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भएपनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए। मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा अपरेशन भएको छ । केही भाग आन्द्रा काटेर हटाइएको छ । दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँचिएकाले अप्रेसन गरी दुबैमा स्टिल जडान गरिएको छ । दायाँहात पनि भाँचिएको थियो ।
अस्पतालका व्यवस्थापक मण्डलले भने , ‘जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो । बाँच्ने अवस्था न्यून थियो । तर हामीले भरपुर प्रयास गरेर सबै अप्रेसन सफल पार्यौं । दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ’, ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ ।
सबैला नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने
मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका मेयर कारीराम यादव सोमवार अस्पताल पुगेर अवस्था बुझ्नु भएको छ । मेयर यादवले दुईदिन भित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिएका छन्।
मेयर यादवले भने, ‘भोलि नै यो विषयमा सबैलाको कार्यपालिका बैठक बसेर छलफल गर्छौ । उपचार खर्च तिरेर वा के कसरी पालिकाले गर्न सकिन्छ भनेर निणर्य गर्छौ । हामी यो घटनालाई अत्यन्त गम्भिरतापूर्वक लिएका छौं।’
अस्पताल नै अवैध रुपमा सञ्चालित
जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । टोलीले अस्पतालको अनुगमन समेत गरेका छन् ।

अनुगमनको क्रममा न्यूरो होस्पिटल अवैध रुपमा सञ्चालनमा रहेको पाइएको छ ।
अस्पताललाई कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराइ आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर लिएको तर, स्वास्थ्य विभागबाट स्वीकृति नलिएको प्रशासकीय अधिकृत मिश्रले जनाए ।
मिश्रले भने, “अस्पताल सञ्चालनका लागि स्वास्थ्य विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ ।अस्पतालको कागजात माग गर्दा विभागको कुनै प्रमाण पेश गर्न नसकेपछि सो अस्पताल अवैध रहेको प्रमाणित हुन्छ ।”
अस्पताल अवैध रहेको जिल्ला प्रशासनका टोलीले बुझेपछि अस्पतालका सञ्चालकहरु फरार भएका छन् ।
अस्पतालका डा. विजय राउतले न्यूरो उपचार सम्बन्धी अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता रहेको दाबी गरेका छन् । तर स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाको अनुसार यो अस्पताल हालसम्म दर्ता भएको छैन ।
अस्पताल अनुगमन तथा सुदृढीकरण शाखा प्रमुख नरेन्द्र खनालका अनुसार अस्पतालले दर्ताका लागि निवेदन दिएको तर मापदण्ड नपुगेका कारण सूचीकृत हुन सकेको छैन् । ‘न्यूरो अस्पतालले दर्ताका लागि निवेदन दिएपछि हामीले दुई-तीन पटक अनुगमन समेत गर्यौं । तर, सरकारले तोकेबमोजिमको मापदण्ड भने पूरा भएको देखिएन’, खनालले भने, ‘हामीले मापदण्ड पूरा गरेर दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौं ।’
अनुगमनको क्रममा फार्मेसी, आकस्मिक कक्ष लगायतका विभिन्न कुराहरु सरकारको मापदण्ड अनुसार नभएको अस्पताल अनुगमन तथा सुदृढीकरण शाखाले जनाएको छ ।
सञ्चालकले प्रदेश सरकारको निकाय र पालिकामा दर्ता नगराएको स्वीकार गरेको छ ।
प्रशासकीय अधिकृत मिश्रले अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता भएको प्रमाणत्रसहित सञ्चालकलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको बताए । ‘दर्ता प्रमाणपत्र सहित प्रशासन कार्यालयमा हाजिर हुन सञ्चालकलाई भनेको छु । विभागबाट पनि दर्ता रहे नरहेको विषयमा पत्र लेखेर जानकारी माग्छौं’ उनले भने ।
डा. अजय राउत र इन्जिनियर विजय राउतले संयुक्त रुपमा अस्पताल सञ्चालन गरेका छन् । यो अस्पतालले उपचारमा चर्को उपचार शुल्क लिने गरेको जनगुनासो छ । सो अस्पतालले डेढ घण्टा इमर्जेन्सीमा भर्नाको शुल्क ३३ हजारसम्म लिने गरेको पाइएको छ ।
२०७८ फागुनको अन्तिम तिरबाट सञ्चालनमा आएको सो होस्पिटल सेवामुखी भन्दा बढी चर्को शुल्कमुखी भएको जनगुनासो छ। अस्पतालमा प्रवेश गर्ने बितिक्कै शुल्क शुरु हुने गरेको पीडितहरुको भनाइ छ । अस्पतालले थोरै समयमा न्यूरो होस्पिटलको नामले चर्चा पाए पनि अस्पतालको नाममा अवैध रकम असुल उपर प्रशासनले नियन्त्रण गर्नुपर्ने पीडितहरुको भनाइ छ ।
न्यूरो होस्पिटल काठमाण्डुमा रहेको होस्पिटलको ब्रान्च रहेको पनि प्रचारबाजी गरिएको थियो तर, अस्पताल अवैध रहेपछि अस्पतालका सञ्चालकहरु नै फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई जिप्रकामा अस्पताल सम्बन्धी सम्पूर्ण कागजात लिएर मंगलबार आउन भनेको छ ।