
बर्दिवास- महोत्तरीमा पछिल्लो ६ महिनामा २२ वटा बलात्कारका घटना भएका छन् । यसमध्ये नाबालिगमाथि भएका बलात्कारका घटना आधा दर्जन रहेका छन् ।
सार्वजनिक भएका घटनाहरूलाइ आधार मान्ने हो भने बर्दिबास नगरपालिकामा सवैभन्दा बढी बलात्कारका घटनाहरू भएको देखिएको छ । परिवारभित्रका दाइ, काकालगायत परिवारका सदस्यबाटै बलात्कारका प्रयास भएका छन् ।
वर्दिबास क्षेत्रमा नै गत १५ चैतमा आफ्नै बुबाले १३ वर्षीया छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो । आमा नभएको मौका छोपेर छोरीमाथि पटक–पटक बलात्कार गरेको र छोरी गर्भवती भएका थाहा पाएपछि बुबा फरार भए ।
शारीरिक र मानसिक तनाव दिएर जेठी छोरीलाई जबरजस्ती गर्दै आएका बुबालाई प्रहरीले खोजी गरिरहेको छ भने गर्भवती बनेकी बालिकाको थापाथलीस्थित ओसीएमसीमा राखेर स्वास्थ्य उपचार भइरहेको छ । यातनाबाट विक्षिप्त बनेकी बालिकालाई ओसीएमसीमा राखेर स्वास्थ्य उपचारका साथै सामाजिक परामर्श समेत दिइएको छ ।
यस्तै प्रकृतिको अर्को घटना पनि बाहिरिएको छ । घरपरिवारले दिएको उजुरीको आधारमा प्रहरीले बर्दिबास–३ वाट अर्का बुबालाई पक्राउ गरेको छ । गत २३ चैतमा इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरि थप अनुसन्धानलाई अगाडि बढाइरहेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आफ्नै छोरीलाई बलात्कार प्रयास गरेको खुल्न आएको छ । पटकपटक बलात्कारको प्रयास गर्न खोजेपछि प्रहरीलाई खबर गरिदिएको छिमेकीहरूले बताए । ‘प्रारम्भिक बयानमा श्रीमती बाहिर निस्केको मौका छोपी वलात्कारको प्रयास गर्ने रहेछ, ’ प्रहरी नायव उपरीक्षक विजय यादवले भने ।
उजुरी दर्ता भएको तर जाहेरी भने अहिलेसम्म आएको छैन । आफ्नै घरमा समेत छोरीहरू कति धेरै असुरक्षित छन् भन्ने विषय पछिल्ला यी घटनाले प्रतिनिधित्व गरेका छन् । यी घटना त १५ दिनको अवधिमा सार्वजनिक भएका प्रतिनिधि मात्र हुन् । पछिल्लो ६ महिनाको अवधिमा मात्र २२ वटा जबरस्ती करणीका घटनाहरू भएको प्रहरीको तथ्यांक छ ।
तथ्यांकअनुसार १६ वर्षभन्दा कम उमेर भएका १० जना बालिकाहरू, १६ देखि २५ वर्षका ७ जना, २५ देखि ३५ वर्षका २ जना र ३६ देखि ४५ वर्षका २ जनामा बलत्कारका घटनाहरू भएका छन ।
पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा बढी गौशाला नगरपालिकामा जबरजस्ती करणी र जबरजस्ती करणीको उद्योगका घटनाहरू भएका छन् । गौशाला नगरपालिकामा ५ वटा, जलेश्वर नगरपालिकामा ३, बर्दिबास नगरपालिकामा ३ वटा, सोनामा गाउँपालिकामा ३ वटा, मनरासिस्वामा ३ वटा, पिपरामा २ वटा र सम्सी गाउँपालिकामा १ वटा घटना भएका प्रहरीले जनाएको छ।