धनुषा- धनुषामा दाइजोको निहुँमा पुनः एक महिलालाई ज्युदै आगोले जलाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दाइजो बापत तीन तोला सुन नदिएको निहुँमा श्रीमान् सहित सासु, ससुरा मिलेर ती महिलाला२ आगो लगाई हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।
ससुराले दाइजो बापत तीन तोला सुन नदिएपछि पतिले शरीरमा आगो लगाइदिएको प्रादेशिक अस्पताल जनकपुरधामको वर्न वार्डमा उपचाररत २८ वर्षीया श्वेता झाले बताउनुभयो ।
भारतको कोठिया दरभंगा माइती भएको श्वेताको विवाह १० वर्ष पहिले देवपुरा रुपैठाका शिवशङ्कर झा र द्रोपती देवीका छोरा राजीव झासँग बिहे भएको थियो ।
आमाबुवाको एकली छोरी र दुई दाजुभाइ भएको श्वेताको विवाह १६ अप्रिल २०१२ (२०६८ चैत्र ३०) मा भएको थियो । केटा राम्रो पढे लेखेको छ, जागिर हुने वाला छ भन्दै झुकाएर उनको विवाह राजीवसँग भएको श्वेताको माइती पक्षको आरोप छ ।
श्वेताको बुवा जयकुमार झाले श्वेताको बिहेमा दाइजो वापत तीन तोला सुन सहितका अन्य सरसामानहरू दिने भनेको बताउँदै झाले भन्नुभयो, “भारतको मुम्बईमा मजदुरी गरेर जीवनयापन गर्दै आएको मैले राजीवका घरपरिवारलाई दाइजो स्वरूप स्वीकारेका मध्ये दुई लाख भारु रुपैयाँ, होण्डा कम्पनीको मोटरसाइकल र आठ आना सुन मात्रै दिए ।”
उहाँले अहिले त्यहि दाइजो वापतको बाँकी राखेको सुनको लागि छोरीलाई ज्युदै जलाएर हत्याको प्रयास गरिएको बताउनुभयो ।
घटनाबारे अनुसन्धान सुरु
जनकपुरधाम उपमहानागरपालिका-२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झालाई पति ३५ वर्षीय राजिव झा, सासु ५१ वर्षीया द्रोपदी झा र देवर २८ वर्षीया कमलेश झाले वैशाख १ गते थप दाइजो माग गर्दै कुटपिट गर्नुका साथै आगो लगाइ हत्या गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख ८ गते उजुरी दिएको छ ।
अस्पतालको बेडबाटै श्वेताले श्रीमान् सहित देवर, सासू र ससुराविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गराउनु भएको छ। यस अघि पनि श्वेताले प्रहरी चौकी फुलगामा सहयोगको लागि ३ पटक उजुरी गरेको तर कुनै सुनवाई नभएको गुनासो गर्नुभयो ।
पीडित पक्षले आरोपितहरू विरुद्ध उजुरी दिएको अधिवक्ता राहुल झाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले पीडित पक्षबाट उजुरी आएकोले घटनाको अनुसन्धान गरी रहेको बताउनु भयो ।
डिएसपी गौतमले यसअघि पनि उजुरी दिएको जनाउँदै पीडितले प्रहरीबाटै भएको कमीकमजोरीको समेत अनुसन्धान हुने आश्वासन दिनुभयो।
यसरी गरियो श्वेताको हत्या प्रयास
जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएकी श्वेताले पति राजिवले परिवारका अन्य सदस्य संग मिलेर आफूलाई शरीरमा आगो लगाई जलाएर मार्ने प्रयास गरेको जानकारी दिनुभयो ।
श्वेताले भन्नुभयो, “हाम्रो विवाह भएको १० वर्ष वितिसक्दा पनि दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई सुरु देखि नै कुटपिट गर्दै आएका थिए । अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरे ।”
‘घटना नयाँ वर्षका दिन वैशाख १ गते को हो । राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेको थियो । मैले छोरालाई बचाउन खोज्दा आफ्नो भाइ, बुबा र आमाको सहयोगमा मेरो शरीरमा आगो लगाइ हत्या गर्ने प्रयास गरे’, श्वेताले रुँदै भन्नुभयो ।
श्वेताले कुटपिट कै क्रममा सासू द्रोपति झा र देबर कमल झालाई बोलाएर पति राजिवले मरणासन्न हुने गरी कुटपिट गरेर शरीरमा आगो लगाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो जिउमा लागेको आगो घरमा सल्किन सक्ने देखेपछि आँगनमा ल्याएर छोडिदिए । केही बेर सम्म जिउँमा आगो दन्की रह्यो र म छटपटाई रहे पनि पनि कोहि बचाउन आएनन् । पछि घर छेउछाउका छिमेकीहरूले आएर मलाई बचाए।”
राजिवको परिवारले शरीरमा आगो लगाएर घाइते भएपनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको उहाँले दुःखेसो गर्दै भन्नुभयो, “घटनापछि अस्पताल भर्ना गराउँदा प्रहरीले पक्राउ गर्ने डरले परिवारले मलाई अस्पताल लान पनि नमानेको पछि भात पकाउने बेलामा भातको माड जिउँमा पोखियो भन्ने सर्तमा वैशाख ६ गते जानकी हेल्थ केयर अस्पताल ल्याए।”
श्वेताको अनुसार मेरो छोराले मलाई कुटपिट गरिरहेको भिडियो कल मार्फत मेरो भाइलाई खबर गरेको थियो । र मेरो जिउँमा आगो लगाएको पनि देखाइदिएको थियो । त्यसपछि मेरो बुवा र दाजु आएर जानकी हेल्थ केयरबाट मलाई उद्धार गर्यो र जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भर्ना गराए।
श्वेताले भन्नुभयो, “दाइजोको कारण बिहेको डेढ वर्ष त माइती जानै दिएनन् । दाइजोको कारण १० वर्षदेखि यातना खेप्दै आएको छु । पति विदेश जाँदा पनि मैले नै कानको सुनको झुम्का बेचेर दिएपछि उहाँ वैदेशिक रोजगारमा जानुभएको थियो । तर, विदेशमा कमाएर पनि मलाई एक सुको पठाउनु भएन ।”
श्वेताले विवाह पश्चात् आफ्नो बुबाले निरन्तर राजिव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समेत जानकारी दिनुभयो।
पति वैदेशिक रोजगारमा गएपछि आफू करिब ५ वर्ष माइती मै बसेको बताउनुभयो । माइतीबाट घर फर्के पछि स्नातक पढेकी श्वेता छोराछोरीको लालन पालन गर्न जनकपुरधाम स्थित एक निजी स्कुलमा टिचिंग गर्न थालेकी थिइन् । तर एक वर्षअघि फागुनमा विदेशबाट पति घर फर्केपछि श्वेताले स्कुल पढाउन पनि छोडेकी बताउनुभयो ।
पति विदेशबाट फर्किदा जहिले रक्सी खाएर आउँने र घरमा कुटपिट गर्ने गरेको र अहिले आएर ज्युदै जलाएर मार्ने प्रयास गरे ।
प्रादेशिक अस्पतालका चिकित्सक अमलेशकुमार सिंहले पीडितको शरीरका ३८ प्रतिशत भाग जलेको र पीडितको स्वस्थ्य अवस्थामा सुधार आइरहेको बताउनु भयो । पीडितको छाती भन्दा तलको भाग र दाहिने खुट्टा जलेको उहाँले जानकारी दिनु भयो ।