
महोत्तरी- महोत्तरी सदरमुकाम जलेश्वरमा जेष्ठ २६ गते हुने संसारीमाई पुजामा चारलाख श्रद्धालुलाई दर्शन गराउने तयारी रहेको महापुजा समारोह समितिले जनाएको छ । यो भन्दा पहिलेकै पुजामा लगभग तिनलाखले दर्शन गरेकोमा मन्दिरको ख्याती वढ्दै गएकोले यसपटक पुजा गर्न तथा मेला हेर्न आउनेको संख्या वढ्ने अपेक्षा रहेको महापुजा महारोह समितिका अध्यक्ष अशोक साहले बताए ।
प्रत्येक पाच वर्षमा हुदै आएको संसारीमाईको पुजामा हजारौको संख्यामा बोका तथा अन्य पशुबलि दिने गरिएकोमा बलिसंगै यसपटक मेला,रासलिला र प्रवचन तथा विभिन्न कार्यक्रमको आयोजना गरिने भएकोले तयारीमा तिव्रता दिइएको महापुजा समारोह समितिका अध्यक्ष अशोक साहले वताए ।

उनले प्रचारप्रसार,मेला व्यवस्थापन,पुजा तयारी लगायतका विभिन्न कार्यको लागि समितिले जिम्मेवारी तोकेको र सम्बन्धित व्यक्ति तथा उपसमितिहरुले आफ्नो जिम्मेवारीमा परेको कार्यहरु गरिरहेको उनले बताए । अध्यक्ष साहले मुख्य पुजा तथा बलि जेष्ठ २६ गते हुने भएपनि यसपटक भने जेष्ठ १९ गते देखि नै कार्यक्रम प्रारम्भ हुने बताए ।
जेष्ठ १९ गते नगर सरसफाई,२० गते कलश शोभा यात्रा,२१ गते महापाठ,२२ गते लखराम पुजा, २२ गते देखि २६ गतेसम्म खोइछ भराई तथा प्रसाद चढावा,२३ गते हनुमान आराधना,२४ गते अष्टजाम,२५ गते बिडी सलामी,सोहि दिन महाआरती र अन्तिम दिन जेष्ठ २६ गते बलि प्रदान हुने उनले बताए । जेष्ठ १९ गते देखि २५ गतेसम्म रात्रीकालमा हुने रासलिलाको लागि अन्तराष्ट्रिय ख्यातीप्राप्त भारतिय राष्ट्रपति पदकबाट सम्मानित स्वामी श्री फतेह कृष्ण शर्माजी महाराज श्री बृन्दावनधामलाई आमन्त्रित गरिएको छ भने जेष्ठ १९ देखि २५ गतेकै समयमा अपरान्ह हुने प्रवचन कार्यक्रमको लागि कथावाचक स्वामी श्री नरहरी आचार्य महाराज श्री अयोध्याधाम आमन्त्रित छन ।

यता जेष्ठ २६ गते हुने मनोरंजनात्मक कार्यक्रमको लागि भारत बिहारका ख्याती प्राप्त कलाकारहरु आउने अध्यक्ष साहले वताए । ८ दिनसम्म चल्ने मेलामा विभिन्न मनोरंजनका खेल तमासा पनि रह्ने उनले बताए ।
एक करोड खर्च हुने अनुमान :
यता महापुजा समारोह समितिले पुजा तथा मेलामा अनुमानित एक करोड खर्च हुने बताएका छन । उनले २५ लाखको टेन्ट,लाईट,साउण्ड र फुलको सजावट नै रहेको बताउदै प्रवचन,रासलिला,मनोरंजनात्मक कार्यक्रम तथा अन्यमा सो रकम खर्च हुने बताए । बलिबाट उठने पैसा र अन्य दाताहरुबाट आउने पैसाले पुजा तथा मेलाको भव्यतामा कुनै कसर बाकि नराखिने अध्यक्ष साहले बताए । समितिले बोकाबलिको लागि ३५० तथा परेवा,हाँस,कुखुरा बलिको लागि एकसय शुल्क निर्धारण गरेको छ । यो भन्दा पहिलेको पंचवर्षिय पुजामा ६ हजार भन्दा वढी बलि प्रदान गरिएकोमा यस पटक १० हजार भन्दा वढी बलि हुने अध्यक्ष साहले बताए । बलि प्रदानको लागि जनकपुर स्थित राम युवा क्लवलाई जिम्मेवारी दिइएको छ ।
संचारकर्मी समन्व्य र सहकार्य समितिमा वरिष्ट पत्रकार चौधरी :
यता महापुजा समारोह समितिले पुजा तथा मेलालाई भव्यता प्रदान गर्न नेपाल सहित अन्तराष्ट्रिय संचारमाध्यमहरु तथा पत्रकारका विभिन्न संघसंगठन सहितका संचारकर्मीहरुसंग समन्व्य तथा सहकार्य गर्न समिति गठन गरेको छ । शनिवार महापुजा समारोह समितिको कार्यालयमा बसेको जलेश्वर नगरपालिका भित्रका पत्रकारहरुसंग बसेको बैठकले जलेश्वर निवासी वरिष्ट पत्रकार राकेश प्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यि समन्व्य तथा सहकार्य समिति गठन गरेको छ । पत्रकार चौधरी संयोजक रहेको सो समितिमा पत्रकारहरु मनोज झा मुक्ति,महेश दास,नागेन्द्र कणर्,रंजन भण्डारी,अनिष साह,रागिनी साह र सुभाष कुमार साह सदस्य छन । चौधरी संयोजक रहेको सो समितिले महोत्तरीका विभिन्न मिडिया हाउस,नेपाल पत्रकार महासंघ महोत्तरी,शाखा,विभिन्न संघसंगठन सहित जिल्ला वाहिर र भारतका समेत पत्रकार तथा संचारमाध्यमहरुसंग समन्वय गर्नेछ ।
यस कारण गरिन्छ संसारीमाईको पुजा :
संसारीमाई(माता)लाई नगरको कुल देवीको रुपमा पुजा गरिने गरिएकोमा उनी नगरकोमात्र नभई संसारकै कुलदेवी रहेको धामी महेन्द्र मुखिया बताउछन । उनी आफ्नो पाचौ पुस्ताको रुपमा माताको पुजा गर्दै आएको स्मरण रहेको बताउदै सो भन्दा पहिलेका पुस्ताहरु समेत माताकै सेवामा लागेको बताउछन । पहिले जलेश्वर स्थित मालपोत कार्यालयको पछाडी हालको पार्किंग स्थलमा उनको लिंगो रहेकोमा सो पछि जलेश्वर कारागारको पछाडीको भाग र त्यहाबाट समेत स्थानान्तरण गरि हालको वरुणसर पोखरीको डिलमा लिंग स्थापित गरिएको उनको भनाई छ । तर मालपोत कार्यालयको पछाडीको भागमा लिंग स्थापित रहेको बारे उनमा अन्यौलता छ । उनले आफ्नो अघिल्लो पाचौ पुस्ताका पुर्वज कमल मुखियाले कारागार पछाडीबाट लिंग स्थानान्तरण गरेको बताउछन । सो पछि पुर्वजहरु वच्चा धामी,हजुर बुवा ठाका धामी,बुवा बिन्दा धामी र सो पछि आफुले निरन्तर पुजा गर्दै आएको बताउछन् ।

परापुर्व समयमा जलेश्वरमा हैजा लगायतका महामारी फैलिएर मानिसहरु मर्न थालेपछि संसारीमाताको आव्हान गरिएको र उनले नै सोहि बेला देखि जलेश्वरको रक्षा गर्दै आएको बताए । पहिले पहिले १२ वर्षमा बलि प्रदान हुने गरेपनि पछिल्लो समय क्रमश १० वर्ष,७ वर्ष र ५ वर्षमा बलि प्रदान हुन थालेको उनको तर्क छ । बलि प्रदानको समय फरक परेकोमा उनी माताले अन्तिम पटक पाच पाच वर्षमा बलि मांग्न थालेपछि सोहि अनुरुप पुजा तथा बलि दिईदै आएको बताए । संसारीमाई पुजामा बलि चल्ने स्थानियहरुको घरबाट बलि र बलि नचल्नेहरुको घरबाट विभिन्न प्रसाद चढाउने गरिएको छ ।
नि: सन्तानले सन्तानको लागि भर्छिन खोईछ :
संसारीमाईले महामारी जस्ता रोग व्याधीका साथै निसन्तानलाई सन्तान सुख तथा भक्तले इच्छाएको पुरा गरिदिने भएकोले जलेश्वरवासीहरुको लागि उनको पुजाको अत्यधिक महत्व छ । प्रत्येक विवाहिताले अनिवार्य खोईछ भराउने र मातासंग आफ्नो इच्छाएको वर मांग्ने गरेकि छिन । अध्यक्ष साहले भने माताको दरवारमा श्रद्धाभावले आएका आजसम्म खाली हात फर्केका छैनन्।