जनकपुरधाम - लामो समयसम्म यसपटक पानी नपरेको तथा आँपमा लाग्ने मधुवा रोग लागेका कारणले आँपमा फूल अनुसारको फल नलागेपछि किसानहरू दुखित भएका छन् ।
यस पटक शुरुमा आँपमा अत्यधिक मात्रामा फूल लागेपछि मधुवा रोगका कारणले फल नै लाग्न नदिएको र फूलहरू आफै झरेका कारणले अनुमान गरे अनुसारको आँप फल्ने अवस्था नरहेको किसानहरूले दुःखेसो पोख्नु भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकाको बनौलि निवासी बब्लु चौधरीले आँपमा फुल लागेपछि अत्यन्तै खुशी भएर रोग नसर्ने औषधिको स्प्रे गरेपनि आँप फल्न नसकेको जानकारी दिनुभयो । सबै फूलहरूमा मधुवा किरा लागेर सखाप बनाउने काम गरेको बताउनुभयो ।
उहाँले अहिले निक्कै कम मात्रामा आँप फलेको जानकारी दिँदै सानो रुखहरूमा केही आँप भएपनि ठूला रुखहरूमा फल नै नभएको उहाँले जानकारी दिनु भयो । इँटा उद्योगहरू अत्यधिक मात्रामा सञ्चालन भएको कारणले त्यसको असरले आँपका फूलमा परेर झरेको आकलन गरिइएको छ ।
यसपटक वर्षा पनि लामो समयसम्म नभएको र विश्वमा वातावरणमा आएको परिवर्तनका कारणले आँपको फूलहरूमा मधुवा रोग लागेर सखाप भएको अनुमान गरिइएको छ । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आँपमा लाग्ने मधुवा रोगको विषयमा अध्ययन गर्ने भएको छ ।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले यस विषयमा आफूहरू जानकार भएको बताउँदै मन्त्रालयले अध्ययन गर्नुका साथै रोगको विषयमा जानकारीका साथै उपचार गर्नका लागि मोबाइल एप्सको विकास गर्ने पक्षमा भएको बताउनुभयो ।
साथै अर्को वर्ष देखि के गर्नु पर्दछ त्यस विषयमा पनि योजना तयार पारिने उहाँले बताउनु भयो । यस पटक आँपमा लागेको रोगका कारणले तराई मधेशका जिल्लाहरूमा आँपको उत्पादन व्यापक मात्रामा कमी आउने अनुमान गरिइएको छ ।