
जनकपुरधाम- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनले ठूला र पुराना राजनीतिक दललाई सच्चिन सन्देश दिएको बताएका छन् ।
जनकपुरधाममा शुक्रबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकारसम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् ।
‘उपनिर्वाचनको परिणाम ठूला दलहरूकालागि शुभ संकेत होइन, अब पनि नसच्चिए ती दलहरूकालागि आउने दिन सहज हुनेवाला छैन।’ उनले भने । उनले राजनीतिमा गुण्डातन्त्र हावी हुँदै गइरहेकाले राजनीतिक दलका नेताहरूप्रति प्रश्न खडा भएको बताए।
लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताएका छन् ।
नेपालले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताए । ‘लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन’ उनले भने, ‘मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो ।’
पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी नबस्ने उनले बताए । ‘यसरी पैसा बाँड्दै हिंड्ने हो भने एकातिर अहिले राज्यको आर्थिक अवस्था राम्रो छैन । राम्रो भए पनि परिपाटी राम्रो बस्दैन’ उनले भने, ‘के भएको हो भन्ने बारेमा घटक दलहरूबीचमा प्रष्ट पार्नुपर्ने आवश्यकता छ ।’