
ढल्केवर- जिल्ला बाल सञ्जाल धनुषाले शुक्रबार अनलाईन मिटिङ मार्फत धनुषा जिल्ला भरिका सम्पूर्ण पालिकाहरुमा बाल सञ्जाललाई विस्तार गर्ने निर्णय गरेको छ ।
धनुषाका १८ वटा स्थानीय तह मध्ये मिथिला नगरपालिका लगायतका केहि पालिकाहरुमा मात्र नगर बाल संजाल रहेको र बाँकी पालिकाहरुमा नगर बाल संजाल नरहेको अवस्था भएकोले नगर बाल सञ्जाल समिति नभएका ठाउँमा चाँडै नै गठन गर्ने भनी निर्णय गरिएको हो ।

सबै पालिकामा बाल सञ्जाल समिति गठन गरेर विभिन्न ठाउँमा आफ्नो हक र अधिकार बाट वञ्चित भएर बाल श्रममा लागिरहेका बालबालिकाहरुको हक अधिकारको सुनिश्चितता गर्न उक्त कार्य गर्न लागिएको कुरा जिल्ला बाल सञ्जाल धनुषाका अध्यक्ष ललित कुमार महतोले बताउनुभयो। महतोका अनुसार हाल सम्म बाल अधिकार हनन् भइरहेका धेरै क्षेत्रबाट बालबालिकाहरुको उद्धार गरेको र आउँदा दिनहरुमा पनि गरिरहने कुरा जानकारी गराउनुभयो।
मधेस प्रदेशको राजधानी समेत रहेको धनुषा जनकपुरधाम सहित सबै पालिकामा बाल सञ्जाल गठन गरी ग्राउण्ड लेभलबाट नै बालबालिकाको हक अधिकार सुनिश्चितता गर्न यस्तो निर्णय गरिएको कुरा जिकिर गर्नुभयो।