
शंकर महतो
उत्पीडन, विभेद, स्वतन्त्रता, पहिचान र आफ्नो शासन आफ्नो प्रशासनको मुद्दा बोकी वर्षाैंदेखि तराई मधेसमा आन्दोलन चलिरहेको छ। प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र हासिल गर्न मधेसीको महत्त्वपूर्ण भूमिका रह्यो। उत्पीडन र विभेदको मुद्दा बोकेर विभिन्न पार्टी बने। यही नारा बोकेका भरमा विभिन्न कालखण्डमा विभिन्न व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत थुप्रै सरकारी सुविधा हासिल गरे। तर वास्तवमा विवेचना गरी हेर्ने हो भने उत्पीडित भूगोल, समुदाय र सिंगो मधेस हालसम्म राजनीतिक ठगीकै सिकार भएको छ।
यस्तैबाट उन्मुक्ति पाउन संविधानमा आफ्नो हक–अधिकार र पहिचान संरक्षित गर्ने उद्देश्यले संविधान निर्माणको अन्तिम घडीमा थारू–मधेसी, अखण्ड सुदूरपश्चिम, राजावादी, नेवा, ताम्सालिङ, लिम्बुवानसँगै सिंगै तराई–मधेसमा पनि २०७२ भदौबाट देशभर आन्दोलन उठ्यो। भदौ ७ मा कैलालीको टीकापुरको मधेसी–थारू आन्दोलनमा सुरक्षाकर्मीको अविवेकीय कार्यशैलीका कारण सुरक्षाकर्मी र सुरक्षाकर्मीको गोलीबाट करुणाका पात्र अबोध बालकको मृत्यु भयो। शान्तिपूर्ण आन्दोलन सशक्त हुँदै गयो।
भदौ २३ गतेबाट सुरक्षाकर्मीले फायर खोल्यो। जसअन्तर्गत जलेश्वरमा बेकसुर मजदुर अमित कापडीलाई सादा पोसाकको प्रहरीले गोली हाने र घटनास्थलमै मृत्युु भयो। भदौ २३ गते गणित विषयका शिक्षक वीरेन्द्रकुमार बिच्छालाई चापाकलमा पानी खाइरहँदा पोसाकका प्रहरीले गोली हानी हत्या गर्यो। भदौ २३ गते रामविवेककुमार यादव बाटोमा हिँडिरहेका बखत सादा पोसाकका प्रहरीले टाउकोमा गोली
हानि हत्या गरे।
भदौ २५ गते निर्दाेष ७० वर्षीय पत्रकार साइकलमा सबार घरतिर गइरहेका बेला प्रहरीले अन्धाधुन्ध गोली वर्षाउँदा गोली लागेर मृत्युु भयो। कक्षा १० विद्यार्थी रोहणप्रसाद चौधरीलाई प्रहरीले छातीमा निसाना लगाई गोली ठोके। रामशिला मण्डल आफ्नै घरमा भाँडाकँुडा धोइरहेको बखतमा पुलिसको अन्धाधुन्ध गोली वर्षामा परी मृत्युु भयो। मण्डलसँगै रहेको साथी शैलदेवी चौधरीको तिघ्रामा गोली लागेर अपांग भयो।
२०७२ भदौ २५ गते बिहानसम्म जलेश्वरमा स्थानीयको लास चारवटा र सहिद वीरेन्द्रकुमार बिच्छा उपचारको क्रममा काठमाडौं लगिएको थियो। यस्तो घटना र सुरक्षाकर्मीको अमानवीय र दानवीय व्यवहार तथा सादा पोसाकमा आन्दोलनकर्मीविरुद्ध सुराकी र निर्दाेष नागरिकलाई गोली ठोक्ने कार्यमा संलग्न रहे।
सोही कारण सशस्त्र प्रहरीका असई थमन विकलगायत सुरक्षाकर्मीमाथि सिंगो जलेश्वर अत्यन्तै आक्रोशित थियो। यही समयमा असई थमन विक सादा पोसाकमा जलेश्वर मन्दिरतर्फ सुराकी गर्न गए। एक्लै गएको देखेर शोकाकुल तथा आक्रोशित भीडले लखेटेर कुटपिट गरेर सख्त घाइते बनायो। जलेश्वर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जनकपुर लैजानुपर्ने भयो। सो क्रममा आक्रोशित माहोलमा सुरक्षा घेरामा राखेर लानुपर्ने अवस्था भयो। एम्बुलेन्स चालक र घाइते बिरामी मात्रै पठाइनु पुलिस अफिसरको गैरजिम्मेवारपूर्ण व्यवहार र उक्त स्थानमा आन्दोलनको जिम्मा लिएको मधेस केन्द्रित नेताहरूको अविवेकपूर्ण तथा मानवताविरोधी गतिविधि भयो। र, असई थमनको मृत्युु भयो।
घटनास्थल र त्यसको २०–३० किलोमिटर वरपर रहेको कुनै प्रमाण भेटिएन। लक्ष्मी महतोले महोत्तरी जिल्लाको उत्तरी भेगमा भइरहेको आन्दोलनको मात्र कमान्ड गरेका थिए। लक्ष्मीलाई पनि बिनाकुनै प्रमाण बिना कुनै कसुर उक्त मुद्दामा राजनीतिक ईष्र्याका कारण मुछियो। लगभग आन्दोलनका जानकार सबैलाई यो विषयको सत्य तथ्य अवगत नै छ।
तर हत्याहिंसाकै राजनीतिक लडाइँबाट आएर आजसम्म प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, मन्त्रीहरू बनाइसकेका पार्टीका नेता, कार्यकर्ताहरूले लक्ष्मीको मानमर्दन हुनेगरी फरक ढंगले मत अभिमत प्रस्तुत गरिरहेका छन्। जबकि लक्ष्मी एउटा सामाजिक व्यक्तित्व, २०५४ सालमा निर्वाचित निगौल गाविसको अध्यक्ष बने। सामाजिक विकासमा तत्कालीन जिल्ला विकास समिति (जिविस)बाट पुरस्कृत भएका थिए। २०७९ को आम निर्वाचनभन्दा अगाडिको सरकारले प्रबल जनसेवाश्री राष्ट्रिय सम्मानका लागि सरकारी निर्णयमा पनि उनी परे। जबकि जनमत पाएका र जनतामाझमा दानवीरको उपनाम पाएका जननिर्वाचित सांसद हुन् लक्ष्मी।
दशकांैदेखि असमानता र शासकीय उत्पीडित, भूगोल, समुदायहरूको मुक्ति आन्दोलनको अपमान गरेको ठहरिँदैन र ? १९९५ सालबाट सुरु भएको प्रजातान्त्रिक आन्दोलन, २०१७ सालपछिको पञ्चायत विरोधी आन्दोलन, जनयुद्ध र २०६२/६३ को संयुक्त जनआन्दोलन र आन्दोलनकर्मीहरू जायज हुने र असमानताबाट मुक्तिका लागि भएको जनसंघर्ष नाजायज हुने व्याख्या गरिन्छ भने हालसम्म उत्पीडित भूगोल र समुदायलाई प्रयोग मात्र गरेको र २१औं शताब्दीमा पनि नश्लीय चिन्तनबाट ग्रसित भएको नै ठहरिन्छ। अतः राजनीतिक विषय राजनीति प्रणालीमा छलफल एवं बहस र आवश्यक छानबिन गरौं।
राजनीतिक ढंगबाट समाधान खोजौं। महोत्तरी क्षेत्र नं. १ का जनताले आफ्नो निजी परिवार र सम्पत्तिको कुनै प्रवाह नगरी मानव मुक्ति यात्रामा जीवन अर्पण गर्न सक्ने भूमिपुत्र माननीय लक्ष्मी महतोलाई निर्वाचित गरी गौरवान्वित महसुस गरेका छन्। जसले जीवनभर उत्पीडित वर्ग र समुदायको पक्षमा तन, मन र धन समर्पण गरेर जनताको सुख–दुखको साथी बने। उनैलाई जालझेल र षड्यन्त्रको सहारामा हत्यारा करार गर्न खोजिँदै छ।