
काठमाडौं- सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हाजिर भएको एक घण्टामै सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत शम्भु यादवलाई १४ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा खटाएको थियो ।
यादव १७ वैशाखको दिउँसो १२ बजे हाजिर हुन पुगे तर हाजिर भएको एक घण्टा पछि उनी फर्किनुप¥यो । किनभने संघीय मामिला मन्त्रालयले साविककै जिम्मेवारीमा फर्किन भन्दै लेखेको पत्र पाएपछि उनी मुख्यमन्त्री कार्यालयमै फर्किएका छन् ।
किन टिक्दैनन् प्रशासकीय अधिकृत ?
हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्नु भने सामान्य जस्तै बनिसकेको छ ।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेलाई नगरपालिकाकै जनप्रतिनिधिले दुव्र्यवहार गरेपछि अहिलेको अवस्था आएको मेयर विनोद साह बताउँछन् । ‘न्यौपाने सरलाई नगरपालिकाकै वडाध्यक्षसहितका कर्मचारीले दुर्व्यवहार गरे, मेरो, प्रमुख प्रशासकीय अधिकृतको र लेखा प्रमुखको कोठाम ताला लगाएपछि उहाँ बस्नुभएन,’ मेयर साहले भने।
न्यौपाने १५ चैत, २०७९ मा मिथिला नगरपालिका सरुवा भएपछि सामान्य प्रशासन मन्त्रालयले सञ्चार मन्त्रालयका उपसचिव ध्रुवराज आचार्यलाई २२ चैतमा हरिपूर्वा खटायो । आचार्य नगरपालिकामा हाजिर हुन नपुग्दै २९ चैतमै मन्त्रालयले फेरि यथावतकै कार्यालयमा खट्न निर्देशन दियो, उनी सर्लाही पुगेनन् । त्यसपछि पुगेका यादव एक घण्टामा सरुवा भएपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नै छैनन् ।
‘हाम्रै केही जनप्रतिनिधिहरुको असहयोगको कारण प्रमुख प्रशासकीय अधिकृत नै आएका छैनन् । उहाँहरुले नै केन्द्रसम्म लबिङ गरेर हाकिम आउन दिएका छैनन्’, मेयर साहले भने ।
उनले प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका योजनाहरुमा भुक्तानी दिनै नसक्ने अवस्था आएको र प्रशासनिक काम पनि प्रभावित भएको बताए । नगरपालिकामा आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ ।