
काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खांड समेत अनुसन्धानमा तानिएका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लाने योजनामा खांड समेत तानिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।
उनलाई ४ करोड ७५ लाखभन्दा बढी रकम दिएको बयानका क्रममा आरोपितहरुले बताएका छन् । खांडको नाम जोडिएपछि उनलाई जोगाउन प्रहरी महानिरीक्षक बसन्त कुवर नै लागेको स्रोत बताउंछ ।
प्रहरीलाई पूर्व गृहसचिव टेकनारायण पाण्डेले आफुले गृहमन्त्री खांडको इच्छाअनुसार आफुले काम गरेको वयान दिएका छन् । पाण्डेलाई खांडले नै गृहसचिव बनाएका थिए ।
सुरुमा बिचौलिया समूहलाई पाण्डेले नै खांडसंग भेटाएको भएपनि पछि स्वंयम् तत्कालिन गृहमन्त्री खांडले नै उनिहरुलाई भेट्ने गरेको खुलेको छ । विचौलिया र खांडको विचमा गृहसचिव पाण्डेले समेत मध्यस्थता गरेको वयानबाट खुलेको बताइन्छ ।
यसमा पूर्व गृहमन्त्री रामबहादुर थापाको समेत भुमिका देखिएको स्रोतको दावी छ ।अनुसन्धानमा संलग्न उच्च प्रहरी स्रोतले दिएको जानकारी अनुसार पक्राउ पुर्जी जारी गर्ने कि अदालतबाट पुर्जी जारी गर्ने पत्रको अनुमति लिएर जारी नगरी नियन्त्रणमा लिने भन्ने विषयमा अहिले गृहमन्त्री र प्रहरी अधिकारीबीच छलफल भइरहेको छ ।
खांड २०७८ असारदेखि २०७९ पुस ११ सम्म कांग्रेस नेता खांड गृहमन्त्री थिए । प्रहरीको अनुसन्धानबाट त्यो समुहसंग खांडको गहिरो सम्बन्ध रहेको निष्कर्श निकालेको छ । उनि मात्र होईन खांडकी श्रीमती मंन्जु खांड र सांसद रामहरी खतिवडाको समेत यो समुहसंग गहिरो सम्बन्ध रहेको स्रोतले बताएको छ ।
गृहमन्त्रालयले सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान गर्नको लागि २०७६ जेठमा कार्यदल गठन गरेको थियो । त्यही कार्यदल गठनपछि बिचौलिया समुहले दर्ता छुटका नाममा प्रतिव्यक्ति १० देखि ५० लाख लिएर ठुलो रकम असुल गरेको पाइएको हो । विचौलियाको यो धन्द्धा तत्कालिन गृहमन्त्री थापा र खांडको पालामा भएको पाइएको छ ।
मानव तस्करी गरेको आरोपमा प्रहरीले सचिव टेकनारायण पाण्डेसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राई, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।
पूर्व गृहमन्त्री थापाका छोरा प्रतिक थापा र एमाले उपमहासचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायामाझिको समेत प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले अरु १५ जनाको खोजी गरिरहेको छ । अख्तियार प्रमुख प्रेम राईको समेत यो प्रकरणमा नाम जोडिएको छ । विचौलिया हरिभक्त महर्जनसंग उनको सांटगांठ रहेको पाइएको छ ।
प्रक्राउ गर्न बांकि रहेकाहरुले प्रहरीले प्रमाण संकलन गरिरहेको छ । वयानका क्रममा दुवै पूर्व गृहमन्त्रीको संलग्नता रहेको पाइएको छ । तर, उच्च राजनीतिक दबावका कारण यो प्रकरणमा उनिहरुलाई पक्राउ गरिएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले यो प्रकरणमा खांडको संलग्नता हुन सक्ने निकटस्थहरुलाई बताएको स्रोत बताउंछ । उनले खांडलाई केही दिन सार्वजनिक कार्यक्रममा नजान सुझाएका छन् ।
आफु प्रक्राउ पर्ने भएसंगै खांडले सभापति देउवालाई भेटेर सहयोग गर्न आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री दाहाल र देउवा उनलाई बचाउन सक्रिय रहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रकरणमा दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताएका छन् । उनले प्रधानमन्त्री दाहाललाई भेटेर घटनाका मुख्य दोषी (खांड) लाई बचाउने प्रयास भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् ।