राधेश्याम कुशवाहा/ बरहथवा सर्लाही
सर्लाहीमा प्रहरीले रात्री यात्रुवाहक बसबाट भारी परिमाणमा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
आज बिहान ईलाका प्रहरी कार्यलय, बरहथवाले पत्रकार सम्मेलनको आयोजना गरी दुवै जना अभियूक्तलाई सार्वजनिक गरेको हो ।
गएको वैशाख २८ गते बिहिवारका दिन इलाका प्रहरी कार्यलय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्दरपुर चोहर्वाको संयूक्त टोलिले बरहथवा नगरपालिका वार्ड न.५ स्थित चोरनिया पुल नजिकै बरहथवा –नयाँरोड सडकखण्डबाट यात्रुवाहक बसबाट भारी परिमाणमा लागुऔषध सहित २ जनालाई पक्राउ गरेका थिए ।



पक्राउ पर्नेमा गोडैता नगरपालिका वार्ड न.११ निवासी खोभारी सहिनीको २२ बर्षिय छोरा सहचालक अजय सहनी र बहरथवा नगरपालिका वार्ड न. ८ निवासी मिया दर्जीको ३२ बर्षिय कन्डक्टर ताज बाबु दर्जी रहेको प्रहरीले जनाएको हो ।
गएको बिहिवारका दिन राति ८ बजेको समयमा बिष्णु गाउँपालिका वार्ड न. ३ मधुवन बजारबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०६–००१ख ०००३ नं.को यात्रु बाहक बस गाडिलाई इ.प्र.का. बरहथवा सर्लाही कार्यालयबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्दरपुर चोहर्वाको समेतको संयुक्त टोलीले उक्त गाडीलाई रोकी चेक जाँच गरेका थिए ।
गाडीलाई चेकजाँच गर्दा गाडीमा सवार सहनीले बोकेको निलो रंगको ब्याग र ताजबाबु दर्जीले बोकेको सेतो रंगको बोराबाट भारी परिमाणमा लागुऔषध बरामद गरेका थिए ।
सहनीले बोकेको निलो रंगको ब्यागबाट कोडिवेल कप सिरप लेखिएको १०० मिलिको बोतल ८९ थान, नुफिन लेखिएको २ मिलिको एम्पुल ९१ थन, डाइजेपाम लेखिएको २ मिलि को एमपुल ९१ थन, फेनेरग्यान लेखिएको २ मिलिको एम्पुल ९२ थान, नाइट्रभेट –१० लेखिएको २० पतामा रहेको प्रति पता १५ वटा टयाब्लेट (गोटी) को दर ले ३०० पिस(टयाब्लेट) र नाइट्रोकेयर १०– लेखिएको ९० पतामा रहेको प्रति पता १० वटा टयाब्लेट(गोटी)को दरले ९०० पिस (टयाब्लेट) भएको थियो भने
दर्जीले बोकेको सेतो रंगको बोराबाट कोडिवेल कप सिरप लेखिएको १०० मिलिको बोतल ९८ थान लागुऔध बरामद भएको प्रहरीले जनाएको हो ।
उनिहरुको साथबाट एक एक थान स्क्रिन टच मोबाईल समेत बरामद भएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सर्लाहीबाट लागुऔषध मुद्दामा म्याद गरी कानुनी प्रक्रिया अघि बढाईएको इलाका प्रहरी कार्यलय, बरहथवा सर्लाहीका डिएसपि मकेन्द्र मिश्रले जानकारी दिए । यस घटनामा अरु पनि संलग्न त छैन भने हिसाबले अनुसन्धान भई रहेको उहाँको भनाई छ ।
सर्लाही लगायत मधेस प्रदेशका जिल्लाहरुमा खुल्ला सिमाना र भारतीय बजारहरुमा लागुऔषधको खुलेआम बिक्रि वितरणले गर्दा लागुऔषध नियन्त्रणमा समस्या हुदै आएको जानकारहरु बताउँछन । लागुऔषध नियन्त्रणका लागि दुवै देशका प्रतिनिधि र सुरक्षाकर्मीले सक्रियाता देखाउनु आवश्यक रहेको उनिहरुको भनाई छ ।





