जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएपछि मधेश तातिएको छ ।
सर्वोच्चको निर्णयविरुद्ध जनकपुरधामसहित तराई मधेशभरि विरोध प्रदर्शन गरिएको छ । नागरिकताविहीन संघर्ष समिति नेपालले सर्वोच्चको निर्णयविरुद्ध आइतबार साँझ जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने सोमबार विहानैदेखि जिल्ला प्रशासन घेराउ गरेका थिए ।
संघर्ष समितिका राष्ट्रिय अध्यक्ष इन्जिनियर इन्द्रजीत साफीको नेतृत्वमा पुगेको नागरिकताविहीन युवाहरुको एक समूहले सर्वोच्च अदालतको निर्णयविरुद्ध नारावाजी गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
अध्यक्ष साफीले सोमबार बिहान ९ बजेदेखि मेचीदेखि महाकालीसम्म देशैभरका जिल्ला प्रशासन कार्यालय बन्द गर्ने चेतावनी दिएका थिए । सोहि क्रममा समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कार्यालयभित्र प्रवेश गर्न अवरोध गरेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ ।
प्रहरीले गरेको लाठीचार्जबाट दर्जनभन्दा बढि आन्दोलनकारीहरु घाइते भएका छन् । लाठीचार्जपछि केहिबेरका लागि आन्दोलन साम्य भएपनि चर्को घाममा समितिका समुहले जिल्ला प्रशासन कार्यालय धनुषालाई घेराउ जारी राखेका थिए ।
समितिका अध्यक्ष साफीले संविधानमा नभएको चिजलाई पनि सर्वोच्चले ब्यूँताएको जिकिर गर्दै साफीले अब यस देशमा सर्वोच्च पनि निष्पक्ष नरहेको आरोप लगाए । उनले सर्वोच्चको यस्तो आदेशविरुद्ध सडकमा नउत्रे मधेस केन्द्रीत दलहरुविरुद्ध पनि नारावाजी गर्ने चेतावनी दिएका छन् ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयनमा नजाने भएको हो । राष्ट्रपति पौडेलले गत १७ गते सो विधेयक प्रमाणीकरण गरेका थिए ।




