
सप्तरी- सप्तरीको राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह र पञ्चदेवकी ३१ वर्षीया पत्नी प्रमीलादेवी साहलाई भदौ २७ गते जन्मकैदको फैसलाको सजाय सुनाइएको छ ।
न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका साह दम्पतिलाई जन्मकैद सजायको फैसला सुनाएको हो ।
हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका प्रमीलाका भाई डाक्नेश्वरी नपा–७ ब्रह्मपुर घर भई मोरंगको विराटनगर उमनपा–११ जनपथ टोल बस्ने ३६ वर्षीय सत्यनारायण साहलाई अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ ।
पुर्पक्षका लागि थुनामा रहेका राजविराज नपा–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय थापा भनिने जिवछनारायण साहले सफाई पाएका छन् ।
हालसम्म फेला नपरेका १६ वर्षीय एक बालक, मृतककी ५५ वर्षीया सासू सोमनीदेवी भनिने शोमादेवी साह, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र मधेपुराका ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।
मृतक बेचनीदेवीको शव ०७५ जेठ ३१ गते घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । गाउँमा दुर्गन्ध फैलिएको खबर स्थानीयवासीले गराएपछि पुगेको प्रहरीको टोलीले घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्याङ्कीबाट साहको सडेगलेको शव असार १ गते उत्खनन् गरी निकालेको थियो ।
शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७५ असार १ गते गरिएको थियो ।
भारत पञ्जाबको जालन्धरबाट २४ वर्षपछि ०७२ असार ११ गते घर फर्केका सुर्यनारायण साहले ०७२ सालमै छिन्नमस्ता गाउँपालिका–६ लालपट्टी खुदीभखारीकी बेचनीसँग विवाह गरेको माइती पक्षले जनाएको छ ।
मृतकका ४२ वर्षीय बुबा रामकुमार साहले ०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा मृतककी सासू शोमादेवीसहितले हत्या गरेको भन्दै किटानी उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालयले ०७५ असार २९ गते सो उजुरी दर्ता गरेको थियो । प्रहरीले हत्या आरोपमा पञ्चदेव, धर्मेन्द्र र जिवछनारायणलाई ०७५ साउन ७ गते गिरफ्तार गरेको थियो ।
यसैगरी प्रहरीले ०७५ साउन ९ गते प्रमीलादेवी साह र प्रमीलाका भाइ सत्यनारायणलाई विराटनगर उपमनपा–११ जनपथ टोलस्थित डेराबाट गिरफ्तार गरेको थियो ।
प्रहरी अनुसन्धानमा गिरफ्तार आरोपितहरूले मृतकका पति सुर्यनारायण साह र निजकी छोरी दुई वर्षीया प्रतिभालाई ०७५ जेठ २६ गते हत्या गरेर कोशी पश्चिमी नहर र खाँडो खोलाको दोभानमा रहेको २ सय मिटर लामो सुरुङ्मा फालेको प्रतिवेदन दिएको छ । यस्तै बेचनीदेवीलाई हत्या गरी घरकै सेफ्टी ट्याङकीमा फालेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतमा ०७५ साउन ३१ गते अभियोजन पत्र दायर भई ०७५ भदौ ६ गते भएको आदेशअनुसार गिरफ्तार पाँच जना आरोपितहरू पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
आरोपितहरूले सूर्यनारायणको नाम गरी आएका व्यक्ति नक्कली भएको र उनले नै पत्नी बेचनीदेवीको हत्या गरी दुई वर्षीया छोरी लिएर फरार भएको बताउँदै आएका छन् ।