
जनकपुरधाम- नागरिकता विधेयक प्रमाणीकरणबारे सर्वोच्च अदालतबाट जारी अल्पकालिन अन्तरिम आदेशले मधेशी जनतामाथि गम्भीर प्रहार गरेको भन्दै धनुषामा दोस्रो दिन पनि विरोध प्रदर्शन गरिएको छ ।

सर्वोच्चको आदेशको विरोधमा धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा नागरिकताविहिनहरुले मंगलबार दोस्रो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुत्ला दहन गरेका हुन् ।

सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ मधेशीको भविष्यसँग खेलवाड गरेको भन्दै विरोध प्रर्दशन गरिएको छ ।
यसअघि उनीहरुले सोमबार पहिलो दिन ढल्केवर–जनकपुरधाम सडक खण्ड अन्तर्गत महेन्द्रनगरमा टायर बालेर प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । आइतबारबाट जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता वितरण गर्ने सूचना समेत जारी गरेको थियो ।

तर, आइतबार नै सर्वोच्च अदालतले राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको विधेयकलाई तत्काल कार्यान्वयन नगर्न आदेश दियो । उक्त आदेशपछि नागरिकता वितरण रोकिएको छ ।
