
जनकपुरधाम- नेपालस्थित चिनियाँ दूतावासले जनकपुरधाममा पछाडि पारिएका समुदायलाई लक्षित गर्दै स्वच्छ र सुरक्षित पानी प्रवाह गर्ने उद्देश्यले दुई अलग–अलग स्वच्छ पानी परियोजना उद्घाटन तथा हस्तान्तरण गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ मा रहेको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय र वडा नं. ११ स्थित दलित बस्तीमा सञ्चालन गरिएका यी परियोजनाहरूले भुइँस्तरका नागरिकलाई स्वच्छ पानीको पहुँच पुर्याउने विश्वास गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले चिनियाँ दूतावासको सहयोगलाई सराहना गर्दै जीवनस्तर सुधारका यस्ता पहलहरूमा सरकार सदैव सहकार्य गर्न तयार रहेको बताए ।
‘स्वास्थ्य र स्वच्छताको आधारमा मात्रै विकास सम्भव छ । यो अभियानले मधेशी जनताको जीवनस्तर उकास्न टेवा पुर्याउनेछ,’ मन्त्री यादवले भने ।
त्यसैगरी, सामुदायिक कार्यक्रमको उद्घाटनमा मधेशी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजय दत्तले चिनियाँ दूतावासले भुइँस्तरमै पुगेर प्रभावकारी काम गरिरहेको भन्दै धन्यवाद ज्ञापन गरे ।
परियोजना कार्यान्वयनमा यूथ पायोनियर्स नेपाल र सीएफआरडी नेपालको समन्वय रहेको थियो । परियोजना प्रमुख ई. शिवाङ्ग दत्तले यो कार्यक्रमको शुरुवात मात्रै भएको उल्लेख गर्दै मधेशका ग्रामीण तथा आवश्यकतामूलक क्षेत्रमा क्रमशः स्वच्छ पानी अभियानको विस्तार गर्ने योजना रहेको बताए ।
कार्यक्रममा चिनियाँ दूतावासका उपप्रमुख वाङ सिन, राजनीतिक मामिला निर्देशक यु पेंगचेंग, प्रदेश योजना आयोगकी सदस्य ललिता यादव, विभिन्न राजनीतिक दलका नेता, मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।