जनकपुरधाम- डा. सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ । पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि अन्ततः फुटमा परिणत भएको हो । असन्तुष्ट समूहले नयाँ राजनीतिक दल ‘जनस्वराज पार्टी’ गठनको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेको छ ।
जनमत पार्टीको ५२ सदस्यीय कार्यकारिणी समितिमध्ये करिब १५ जनाको हस्ताक्षरसहित आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइएको छ । जनस्वराज पार्टीको अध्यक्षमा दीपक कुमार साहलाई प्रस्ताव गरिएको छ । साह यसअघि जनमत पार्टीका उपाध्यक्ष थिए । तर, पार्टी नेतृत्वसँग असहमति बढेपछि उनलाई कारबाही गर्दै निष्कासन गरिएको थियो ।
निर्वाचन आयोगका उपन्यायाधिवक्ता विष्णु पौडेलका अनुसार जनमत पार्टीबाट छुट्टिएर नयाँ दल दर्ताका लागि आएको निवेदन आयोगले दर्ता गरी प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । ‘दीपक साहको नेतृत्वमा जनमत पार्टीबाट विभाजन भएर नयाँ दल दर्ताको निवेदन आएको हो,’ पौडेलले भने ।
उनका अनुसार दल दर्ताका लागि २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर आवश्यक पर्ने कानुनी प्रावधान अनुसार निवेदन आएको छ । आयोगले हाल हस्ताक्षरको सनाखत र छानबिन प्रक्रिया अघि बढाइरहेको छ ।
साह समूहले दर्ता गर्न लागेको नयाँ दलको नाम ‘जनस्वराज पार्टी’ राखिएको छ । पार्टीको चुनाव चिन्ह विद्यार्थीले बोक्ने झोला प्रस्ताव गरिएको छ । प्रारम्भिक रूपमा १५ सदस्यीय कार्यसमिति गठन गरी दल दर्ता प्रक्रिया सुरु गरिएको र पछि पदाधिकारी र केन्द्रीय सदस्य थपिने जनाइएको छ ।
साहले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीले निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छौँ । सोमबारसम्म दल दर्ता भइसकेपछि आयोगबाट प्रमाणपत्र प्राप्त हुनेछ ।’
दीपक साहमाथि पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै जनमत पार्टीले केही दिनअघि निष्कासन गरेको थियो । साहसँगै तत्कालीन कोषाध्यक्ष सुरेन्द्र यादवलगायतका नेताहरूमाथि पनि कारबाही गरिएको थियो ।
तर, जनमत पार्टीभित्र असन्तुष्टि यतिमै सीमित थिएन । केही साताअघि पार्टीका वरिष्ठ नेताहरू उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघ संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमलेसमेत एकैसाथ पार्टी परित्याग गरेका थिए । यी नेताहरूले डा. राउतको नेतृत्वशैलीप्रति असन्तुष्टि जनाउँदै उनलाई २४ घन्टे अल्टिमेटम समेत दिएका थिए ।
पार्टी स्रोतका अनुसार नयाँ दलको दर्ता प्रक्रिया प्रदेशस्तरको सत्ता समीकरणसँग पनि जोडिएको छ । एक नेताका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारीका क्रममा जनमतका केही प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा राख्न साह समूहले हतारमा निवेदन दर्ता गरेको हो । हाल केही कागजात अपूरा रहेका कारण सोमबारसम्म सबै प्रक्रिया पूरा हुने जनाइएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार जनमत पार्टीको विभाजनले मधेश प्रदेशको राजनीतिक समीकरणमा प्रत्यक्ष प्रभाव पार्नेछ । डा. राउतको कडाइपूर्ण नेतृत्वशैली र संगठनात्मक एकताको अभाव यो विभाजनको प्रमुख कारणका रूपमा देखिएको विश्लेषण गरिएको छ ।
यससँगै मधेशको राजनीतिमा ‘जनस्वराज पार्टी’ नयाँ विकल्पको रूपमा उदाउने देखिएको छ । सोमबार निर्वाचन आयोगले प्रमाणपत्र दिएपछि यो दल औपचारिक रूपमा नयाँ राजनीतिक शक्तिको रूपमा परिचित हुनेछ ।




