महोत्तरी– वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था अनुसार औरही नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेको छ । वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत अनलाइन आवेदन दिने व्यवस्था गरे अनुरुप औरही नगरपालिले उक्त व्यवस्था सुरु गरेको नगर प्रमुख प्रदिप कुमार खड्काले जानकारी दिनुभयो ।
अनलाइन आवेदन गरी श्रमिकले श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भए पनि अधिकांश नेपाली श्रमिकले अनलाइन आवेदन अन्य अनाधिकृत व्यक्ति वा सेवाप्रदायक संस्था मार्फत गर्दा श्रमिकको सम्पूर्ण विवरण प्रविष्ट नहुने, सो वापत धेरै रकम तिर्न बाध्य हुनुपर्ने र विभिन्न वाहाना बनाइ श्रमिकलाई दुःख हैरानी दिने कार्य हुँदै आएको थियो ।



सोही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवं भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्न वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह गर्ने कार्यमा ७ सय ५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई जिम्मेवारी तोकी २०८० साल वैशाख १ गते देखि कार्यान्वयन गर्ने परिपत्र अनुसार औरही नगरपालिको उक्त कार्य प्रारम्भ गरेको नगर प्रमुख खड्काले बताउनुभयो ।
नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख प्रदिप कुमार खड्काले औरही नगरपालिका २ का उमेश साह पजियारलाई श्रम स्वीकृती प्रदान गरिएको छ । अव श्रम स्वीकृत लिने व्यक्तिहरुले व्यक्तिगत विवरण सहितको व्यक्तिगत कागजपत्र, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपी सहित रोजगार शाखामा सम्पर्क गर्नका लागि नगरपालिकाको रोजगार शाखाका प्राबिधिक मनिष कुमार यादवले आग्रह गरेको छ ।
वैदेशिक रोजगारका लागि जाने व्यक्तिले स्थानियतहबाटै निःशुल्क रुपमा श्रम स्वीकृती तथा पुनः श्रम स्वीृकत सेवा पाएपछि स्थानियहरु हर्षित भएका छन् ।




