
जनकपुरधाम- गत पुस २७ गते मधेस प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका सरोजकुमार यादवले शपथ लिएसँगै भ्रष्टाचारप्रति शून्य सहनशीलताको वाचा गरेका थिए । उनले भनेका थिए, ‘मधेस प्रदेश सरकार पूर्णरुपमा सफल छ ।
संघीयतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको समयमा प्रदेश सरकार संघीयतालाई संस्थागत गर्न अगाडि बढिरहेकाले मधेस सरकार सफल छ ।’

उनले आफू नेतृत्वको सरकार भ्रष्टाचार तथा फजुल खर्चमा कदापि नलाग्ने दाबी गरेका थिए । तर, उनको त्यो बोली व्यवहारमा भने पटक्कै देखिएन ।
मधेस प्रदेश सरकारले सामान्य होर्डिङ बोर्डकै नाममा लाखौं रकम खर्च गरिरहेको छ भने अन्य ठूला काममा कति रकम अनियमित रुपमा खर्च गरिरहेको होला, सहजै अनुमान लगाउन सकिन्छ । मधेस भवनको एउटै स्थानमा १० दिनकै अन्तरालमा मुख्यमन्त्री यादवको चित्र अंकित दुईवटा ठूला होर्डिङ बोर्ड परिवर्तन गरिसकेको देखिन्छ । त्यस्तै प्रदेशका अन्य स्थानहरुमा पनि ठूला–ठूला होर्डिङ बोर्डहरु झुण्ड्याइएका छन् ।

अहिले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आ–आफ्नो चित्र अंकित ठूला–ठूला होर्डिङ बोर्ड प्रदेशका विभिन्न ठाउँमा लगाएको देखिन्छ । होर्डिङ बोर्डमा प्रदेश सरकारका केही महत्वकांक्षी योजनाको स्लोगन पनि लेखिएका छन् ।महत्वकांक्षी योजनाको प्रचारप्रसारको नाममा मात्र बर्सेनि लाखौँको बजेट छुट्याइएको छ । प्रचारप्रसारको नाममा खर्च गर्न मुख्यमन्त्री कार्यालय अब्बल देखिएको छ ।
युवा अभियन्ता सुशील कर्णले प्रदेश सरकार होर्डिङ बोर्ड तथा ब्यानरमै सिमित रहेको आरोप लगाए । उनले सरकारले उल्लेखनीय काम भने केही गर्न नसकेको जिकिर गरे ।
नयाँ योजनाभन्दा पनि पुरानै योजनाको प्रचारप्रसारका लागि बर्सेनि लाखौँको बजेट छुट्याइँदा प्रचारप्रसारको नाममा समेत भ्रष्टाचार भइरहेको उनको आरोप छ । सरकारले बाचा अनुसारका महत्वपूर्ण काम कुनै पनि पूरा गर्न नसकेको उनले बताए ।
‘संघ सरकारले संघीयता असफल पार्न कर्मचारी लगायतमा असहयोग गरी काम गर्न दिएन भन्दै सार्वजनिक कार्यक्रममै प्रदेश सरकारका मन्त्री गालीगलौजमा उत्रिएका छन्,’ उनले भने, ‘तर, आफूले जनतासँग गरेको बाचा र प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेका योजना भने पूरा गर्न सकेको छैनन् ।’
राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए पनि व्यवहारमा भने उल्टो देखिएको युवा नेता सरोज मिश्रको आरोप छ ।

मुख्यमन्त्री कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा प्रचारप्रसारका लागि ३१ लाख र ०७९/८० मा ८० लाख रुपैयाँ छुट्याएको थियो । जुन शीर्षकमा प्रचारप्रसारका लागि बजेट छुट्याइएको थियो सोही शीर्षकमा फेरि पनि लाखौँ रुपैयाँ छुट्याइएको छ ।
‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान सम्बन्धी होर्डिङ बोर्ड तथा ब्यानरका लागि ०७८/७९ मा १६ लाख र ०७९/८० मा ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
त्यस्तै सोही अभियानको प्रचारप्रसारका लागि टिसर्ट र ब्याच खरिद गर्न पनि १५ लाख रुपैयाँ बजेट छुट्याइएको ।
प्रदेश सरकारको अर्को महत्वकांक्षी योजना मुख्यमन्त्री स्वच्छता अभियानसम्बन्धी होर्डिङ बोर्ड राख्नका लागि ३० लाख रुपैयाँको बजेट छुट्याइएको थियो ।
यसअघिका मुख्यमन्त्री र मन्त्रीहरुले पनि प्रचारप्रसारको नाममा अनावश्यक रुपमा ठाउँठाउँमा ठूलाठूला होर्डिङ बोर्डहरु राखेर लाखौं खर्चेका थिए ।-टुडेआवाज