काठमाडौँ-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त हुनुभएको छ । सुनसरी निवार्चन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद साहले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
बिहीबार नै गौरी कुमारीले राजीनामा दिनुभएपछि सो पद रिक्त भएको थियो । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीका रूपमा उहाँलाई सिफारिस गरेपछि राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउनुभएको हो ।



शथपलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभारसमेत समालिसक्नुभएको छ । कार्यभार समाल्ने क्रममा नवनियुक्त मन्त्री शाहले मन्त्रालय र मातहतका निकायमार्पmत भइरहेका कार्यप्रगतिबारे निवर्तमान मन्त्री गौरी कुमारीसँग आवश्यक छलफल गरेर थप कार्य अगाडि बढाउने प्रतिक्रिया दिनुभयो ।
उहाँले पदभार ग्रहण गरे पनि कुनै निर्णयमा भने हस्ताक्षर गर्नुभएन । साहले आगामी दिनमा मन्त्रालयका कर्मचारीको पूर्ण साथ लिएर अगाडि बढ्ने बताउनुभयो ।
सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य भागमा समेत खाना पकाउने ग्यासको चरम अभाव भएको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बिहीबार राजीनामा गर्नुभएको हो ।
त्यसअघि बुधबार मात्र संसदीय समितिमा उहाँले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । हाल ५८ वटा ग्यास उद्योग रहेको र ती देशको आवश्यकताभन्दा धेरै रहेको भन्दै उहाँले देशका लागि दुई वटा मात्र पर्याप्त हुने जनाउनुभयो ।
उहाँले निगमले पटक पटक पत्राचार गरे पनि ग्यास उद्योगबाट आवश्यक सहयोग नपाएको भन्दै त्यस्ता उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने पनि बताउनुभएको थियो ।
उहाँले ग्यास उद्यमी व्यवसायीलाई कारबाही हुनुपर्ने पनि बताउनुभएको थियो । साथै उहाँले कर्मचारीतन्त्रबाट पनि सहयोग नभएको गुनासो गर्नुभएको थियो । उहाँले ग्यास उद्योगसम्बन्धी कानुन निर्माण तथा संशोधनमा कर्मचारीतन्त्रबाट सहयोग नपाएको उल्टै उद्योगीको हित अनुकूल बनेका नियम तथा कानुन परिवर्तन गर्न खोज्दा कर्मचारीबाट ‘मिल्दैन’ भन्ने जवाफ आउने गरेको बताउनुभएको थियो ।




