कृष्ण राज गिरी/ भैरहवा
आइएमई समुहको लगानीमा बुटवलमा बनेको लुम्बिनी केबलकारको पुष्पकमल दाहाल “प्रचण्ड” ले उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेश को यो पहिलो केबलकारबाट बुटवल को गोलपार्क बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका-३ , बसन्तपुर पुग्न सकिनेछ। केबलकार लगभग तीन किलोमिटरको दुरी मा संचालन भएको छ।



लुम्बिनी केबलकारको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहाल ले ‘हाम्रो अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको बताए। उनले हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक नभएकाे बताए।

्प्रधानमन्त्री प्रचण्डले भने, ‘लुम्बिनी प्रदेशमा बनेको यो पहिलो केबलकारको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ ,गत महिनामात्र नवलपुरको मौलाकाली केवलकारको उद्घाटनपछि आज यो अवसर पाउँदा अर्को खुसी थपिएको महसुस गरेको र रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको यस पर्यटकीय पूर्वाधारले यहाँको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्न सकोस् शुभकामना छ। लुम्बिनी केवलकार निर्माणमा सहभागी आइएमई ग्रुप तथा यसमा संलग्न सबै लगानीकर्ता तथा स्थानीय नागरिकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’
लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुरमा भारतको गुहावटीमा रहेको कामाख्या मन्दिर कै शैली र कलामा मन्दिर निर्माण गरिएको छ र भगवती मन्दिर ,कैलाश पर्वत लगायत अन्य संरचनाहरुले भरिपूर्ण एउटा राम्रो धार्मिक तथा पर्यटकिय गन्तब्य बनाईएको छ। यसअघि यहि जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पूजा आराधना गरिएको थियो ।




