महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेको जग्गाको कित्ता काट खुलाएको छ । मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल सोमवार एक कार्यक्रम बीच भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्नको सार्वजनिकीकरण गरेको छ ।

भू-उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी पालिकाको स्थानीय भू-उपयोग परिषद्ले क्षेत्राधिकार भित्रको जग्गाको भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको कुरा मटिहानी नगरपालिकाका इन्जीनियर विमलेश साहले बताउनु भयो ।

मटिहानी नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ १६८६.७१८ हेक्टर, व्यवसायिक क्षेत्रतर्फ १७.६२८ हेक्टर, साँस्कृतिक क्षेत्रतर्फ २.४०० हेक्टर, नदीजन्य/पोखरी क्षेत्रतर्फ ६४.७७६ हेक्टर, औद्योगिक क्षेत्रतर्फ २६.८४२ हेकटर, सार्वजनिक क्षेत्रतर्फ ६५.६९४ हेक्टर र आवासीय क्षेत्रतर्फ १०५४.७७४ हेक्टर जग्गा वर्गीकरण गरेको छ । मटिहानी नगरपालिकाले वर्गीकरण गरेको जग्गाहरु जम्मा ३४ हजार ३ सय ९७ कित्ता रहेको र मङ्गलबार देखि सबै जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी गराइएको छ ।

जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा उप-प्रमुख मन्जु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्र शेखर शर्मा, इञ्जिनियर विमलेश साह, योजना अधिकृत राजेश कुमार शर्मा, वड़ा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु उपस्थिति रहेको थियो । जग्गा कित्ताकाट रोकिएको कारण वर्षौ देखि सास्ती भोग्नुको साथै विभिन्न कामहरु गर्न/गराउन नपाएका मटिहानी नगरवासीहरुले मङ्गलबार देखि जग्गा सम्बन्धी कामहरु गर्न पाउने भएका छन् ।




