
काठमाण्डौं- एकजना नागरिकता पीडितले आत्मदाहको प्रयास गरेका छन्।
उनले मङ्गलबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनको क्रममा आत्मदाहको प्रयास गरेका हुन् ।
आत्मदाह प्रयास गर्ने युवक मोरङको कटहरीका निरजकुमार कामत रहेको प्रहरीले जनाएको छ । उनले शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । तर, जल्न भने पाएनन् । प्रहरीले उनको शरीरमा लागेको आगो निभाएर वीर अस्पताल पुर्याएको छ । उनको अवस्था सामान्य छ ।

आज नागरिकता पीडितहरूले प्रदर्शन गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपनि कार्यान्वयन भने भएको छैन ।
कामतका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि संघर्षरत थिए ।
सर्वोच्च अदालतले प्रमाणीकरण भएको विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेपछि नागरिकता पाउन नसकेकाहरु आक्रोशित बनेका छन् ।
माइतिघरमा प्रदर्शनकारीले तत्कालीन राष्ट्रपति भण्डारीसँगै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।