मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् ।
भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को नक्सा राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला मधेश प्रदेशमै पहिलो पटक बिहीबार मलंगवाका मेयर यादवले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।
यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर मेयर यादवको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिए । नगरका जनप्रतिनिधि, कर्मचारी, संचारकर्मीलगायतको उपस्थितिमा मेयर यादवको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको मलंगवा नगरपालिकाले जनाएको छ ।
मेयर यादवले जताततै चाकडी गर्ने परिपाटीको अन्त्य गरी देशको भूमि रक्षाका लागि सबै एकजुट र एउटै स्वरमा अघि बढ्नुपर्नेमा जोड दिए । वडाध्यक्षहरुलाई समेत आ–आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न आग्रह गरेको मेयर यादवको भनाई छ ।
मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले सीमासँग जोडिएको विषय नगरपालिकासँग सम्वन्धित नभएपनि राष्ट्रियताको सबालमा पालिका पनि गम्भीर भएर ग्रेटर नक्सा राखिएको बताए ।


