सुनिता बराल,महोत्तरी- उनी २७ वर्षकी भइन, ५ सन्तान छन् । महोत्तरीको सोनमा गाउँपालिका–७ स्थित मैनटोलकी जैकलदेवी सदाको १४ वर्षको उमेरमा विवाह भएको हो । उनलाई सधैं एउटै पिरलो हुन्छ, लालाबालालाई कसरी पेटभरि खुवाउने ? ३ वर्षकी कान्छी छोरी दूध खान खोज्छिन् । तर पर्याप्त पोषण नपाएकी जैकलको दूध आउँदैन ।
भोकले बच्चाहरू झगडा गर्न थालेपछि उनी लाचार देखिन्छिन् । ‘भोक लाग्यो भनेर दिनभर करकर गरिराख्छन्, घरमा अन्न छैन, म कसरी भात खुवाउँ ?’ उनले दुःख पोखिन् । कान्छी छोरीतिर टिठलाग्दो पाराले हेरिन् ।
कलिलैमा सुत्केरी भएकाले, बर्सेनि बच्चा जन्माउनु परेकाले, पर्याप्त पोषण र हेरचाह नपाएकाले जैकलदेवी अनेकन स्वास्थ्य समस्यासँग जुधिरहेकी छन् । गत फागुनदेखि उनको महिनावारी रोकियो । त्योभन्दाअघि दुई महिनासम्म निरन्तर रक्तस्राव भएर उनलाई मर्छु जस्तो भयो । तर किन यस्तो भयो ? उनी आफैंलाई थाहा छैन । सेतो र गन्हाउने पानी बगिरहेको पनि यही भएर हो कि भन्ने उनको अड्कल छ । उनले भनिन्, ‘गाउँका सबै महिलालाई यस्तै हुन्छ । आफैं निको हुन्छ भनेर अहिलेसम्म स्वास्थ्य चौकीमा जाँच गर्न कोही गएको छैन ।’
उनका श्रीमान् कमाउन भारतको चेन्नई गएका छन् । श्रीमान्को अंशमा परेको झुपडीको एकापट्टिको भागमा कुचुक्क परेको एउटा कोठामा बनाइएको मचानमाथि उनी चार सन्तानसँग कोच्चिएर सुत्छिन् । गरिबीले निम्त्याएको अभाव, शरीरमा देखापरेका अनेकन समस्याका बाबजुद जैकलदेवी एउटा कुरामा खुसी देखिन्छन् । ‘छोरा नजन्माए श्रीमान्ले अर्को विवाह गर्छु भनेका थिए । तर चौथो सन्तान छोरा जन्मेपछि ढुक्क भएँ,’ उनले भनिन् ।
मैनटोलमा ७० घरपरिवार मुसहर समुदायको बसोबास छ । अधिकांश घरमा महिला र बालबालिका मात्रै छन् । सबैको परिवारको संख्या ठूलो छ तर झुपडी ससाना । खरले छाएका झुपडीमा दिनभरि वृद्धवृद्धा र ससाना बालबच्चा भेटिन्छन् । तिनका आमाहरू परिवार धान्न दैनिक ज्यालादारीका काम गर्न हिँडेका भेटिन्छन् ।
राष्ट्रिय जनगणना–०७८ अनुसार सोनामा गाउँपालिकाको साक्षरता दर ५६.१ प्रतिशत छ । जसमा महिलाको साक्षरता ४७ प्रतिशत देखिन्छ । मुसहर समुदायमा साक्षरता दर निकै कम छ । तथ्यांकले १८ देखि २० वर्ष उमेरमा ४८.७ प्रतिशत किशोरीको विवाह भइसकेको औंल्याएको छ । ४०.८ प्रतिशत बालिकाले १५ देखि १७ वर्षमै बिहे गर्छन् । जैकलदेवी यहाँ महिला प्रतिनिधि पात्र हुन्, जसको स्वास्थ्य कमजोर अवस्थामा छ ।
मैनटोलका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । अलिक ठूला भएकाले आफूभन्दा साना भाइबहिनी हेर्ने जिम्मेवारीमा छन् । किनकि तिनका बा परदेशमा छन्, आमा ज्यालादारी काम गर्न जानुपर्छ । जसोतसो हुर्किएर १२/१५ वर्ष पुगेका छोराहरू भारतको चेन्नई, पञ्जाबलगायत ठाउँमा मजदुरी गर्न जान्छन् । छोरीहरू किशोरावस्था पार नहुँदै बिहे गरेर गइहाल्छन् ।
सानै उमेरमा ठूलो परिवारको बोझले थिचिएका मैनटोलका धेरै आमाको स्वास्थ्य जोखिममा छ । कौशिलादेवी सदा पाँचौं सन्तानको आमा बन्न ७ महिनाको गर्भवती छिन् । तर यो बेला उनले पोसिलो खानेकुरा परैको कुरा, पेटभरि खान पाएकी छैनन् । यसअघि पनि गर्भवती हुँदा उनलाई पेटभरि खाएको खासै सम्झना छैन । श्रीमान् राजुकमार मजदुरीका निम्ति भारत पसेपछि उनी चार सन्तान स्याहारेर जोखिम मोल्दै गर्भ हुर्काइरहेकी छन् ।
उनका १० वर्षको जेठो छोरा, ९, ८ र ५ वर्षका छोरी छन् । छोरीकै शरणमा आएर बसेकी कौशिलाकी वृद्धा आमा भोक खपेर उनको मुख हेरिराख्छिन् । एकातिर घरको यस्तो अवस्था छ, अर्कोतिर उनको गर्भवती जीउ थाकेर फतक्क हुन्छ अनि भोक लागिरहन्छ । सातौं महिना पुग्दा उनी अहिलेसम्म स्वास्थ्य जाँच गर्न गएकी छैनन् । जबकि उनको घरबाट १५ मिनेटमा दूरीमा छ, सोनामा–७ सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र छ । ‘पेट भर्ने अन्न छैन, अस्पताल जान कहाँ पैसा छ र जानु,’ उनले भनिन्, ‘पैसा भए त चामल किन्थें बरु ।’
गर्भवती भएका बेला नियमित स्वास्थ्य जाँच गर्नु अनिवार्य छ भन्नेबारे उनलाई थाहा छैन । यसअघि चार सन्तान जन्माउँदा उनी एकै पटक पनि स्वास्थ्य संस्थामा पुगिनन् । उनले उल्टै भनिन्, ‘पेटमा बच्चा चलिरहेकाले सबै ठीकठाक होला ।’
आधारभूत स्वास्थ्य सेवा केन्द्रका जनस्वास्थ्य निरीक्षक रामसंजोग महतोले केन्द्रमा जाँच र ४५ थरी औषधि निःशुल्क रहेका बताए । उनले भने, ‘तर महिला स्वास्थ्यकर्मी नभएकाले केन्द्रमा गर्भवती र महिला आउन संकोच मान्छन् ।’ केन्द्रमा आएका कतिपय महिलाको स्वास्थ्य समस्या जाँच्न आवश्यक उपकरण छैनन् । गर्भवती महिलाको रक्तचाप र तौल परीक्षण गरी आइरन चक्की दिएर पठाइने गरेको उनले बताए ।
२६ वर्षकी तिलियादेवी चार बच्चाकी आमा हुन् । मानसिक सन्तुलन गुमाएका श्रीमान्, वृद्धा सासू र ४ सन्तान हुर्काउने दायित्व उनकै काँधमा छ । तर सानै उमेरमा बारम्बार सुत्केरी बन्नुपरेकाले तिलियाको स्वास्थ्य राम्रो छैन । ‘शरीर कमजोर छ, काम गर्न सजिलो छैन,’ उनले भनिन्, ‘काम नगरी खान पाइँदैन ।’ तिलिया अहिले सेतो पानी बग्ने, महिनावारी समयमा नहुने, दिसापिसाब रोक्न नसक्ने, जीउ थरथर काम्नेजस्ता समस्यासँग जुधिरहेकी छन् । तर पनि उनी उपचार गर्न कतै गएकी छैनन् ।
अति विपन्न मुसहर समुदायमा सानै उमेर (१० देखि १६ वर्ष) मा बिहे गर्ने चलन कायमै छ । चार बच्चाकी आमा २५ वर्षीया अगमदेवी सदाले सुनाइन्, ‘छातीको आकारसम्म नबस्दै हाम्रो विवाह भएको थियो ।’ जन्मदर्ता, बिहे दर्ता र नागरिकता पनि नभएकी अगमदेवीलाई आफ्नो बिहे सानैमा भएको भन्ने थाहा छ तर ठ्याक्कै कति वर्षमा भयो भन्न सक्दिनन् ।
उनले भनिन्, ‘सानैमा बिहे गर्ने मुसहर महिलालाई रोग, भोक र शोकले जीवनभर छोड्दैन ।’ उपचार खर्च अभावमा उनको टोलका सबै महिलाले आफ्नो रोग लुकाउने गरेको उनले बताइन् । जीउ, हातखुट्टा दुख्ने, महिनावारी समयमा नहुने, पाठेघर खसेका, सेतो र गन्हाउने पानी बग्ने, जीउ थरथर काम्ने, कमजोरी, टाउको दुख्ने र पेट दुख्नेजस्ता समस्या टोलका धेरै महिलामा भएको बताइन् । भनिन्, ‘कसैलाई सुनाएर पनि के नै हुने हो र !’
गरिब, दलित तथा विपन्न समुदायका अधिकांश महिला सानैमा बिहे गर्ने, सन्तान जन्माउने कारण शारीरिक समस्या बढी देखिने गरेको चिकित्सक बताउँछन् । जिल्ला अस्पताल जलेश्वरकी महिला रोग विशेषज्ञ डा. मनीषा भारद्वाजले गरिब तथा विपन्न समुदायका प्रत्येक १० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ४ जनामा जटिल खालका स्वास्थ्य समस्या देखिएको बताइन् । सानै उमेरमा विवाह गर्ने र उमेर नपुगी बच्चा जन्माउने गरिब तथा विपन्न समुदायका ६० प्रतिशत महिला जटिल खालका स्वास्थ्य समस्यासँग जुझिरहेका छन् ।
डा. भारद्वाजले १९ वर्षभन्दा कम र ३५ वर्षभन्दा माथिको उमेरमा सन्तान जन्माउनु आमा र बच्चा दुवैका लागि उच्च जोखिम हुने बताइन् । ‘आफ्नो उचित स्याहार गर्न नसक्ने उमेरमै आमा बनेका छन्,’ उनले भनिन्, ‘हरेक महिलाको यौनांगमा इन्फेक्सन भएर सेतो पानी बग्ने, चिलाउने, पोल्ने, रगत बगिरहने, पाठेघर खस्ने, शरीरका अंग विखण्डन हुने गर्छ । ख्याउटेपन आउने र समयमै सजग हुन नसक्दा क्यान्सरजस्ता जटिल समस्या देखिन सक्छ ।’ सानो उमेरमा गर्भवती हुँदा आमालाई मात्र होइन, नवजात शिशुको स्वास्थ्यसमेत गम्भीर असर पर्छ । नवजात शिशुमा रक्तअल्पता हुने, बच्चाको तौल नबढ्ने, पोषण नपुग्ने, हड्डीको आवश्यक विकास हुन नसक्नेजस्ता समस्या देखा परेको डा. भारद्वाज बताउँछिन् ।
जनगणनाको तथ्यांकअनुसार मधेश प्रदेशमा १५ देखि ४९ वर्षका विवाहित १२ लाख ६४ हजार ६१ महिलामध्ये ११.५ प्रतिशतले कुनै पनि जीवित बच्चा जन्माएका छैनन् । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रक्तअल्पताका कारण ५० प्रतिशत महिला तथा बालबालिकामा कुपोषणको जोखिम छ ।
सानो उमेरमा हुने विवाहले कुपोषणको संख्या भयावह बन्दै गएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निर्देशक विनोद यादवले बताए । शारीरिक रूपमा पूर्ण विकास हुन नसकेका, शरीरमा रगत कम भएका किशोरीको विवाह र बच्चा कम उमेरमै हुँदा गरिब, दलित र विपन्न समुदायका धेरै परिवारको जीवनचक्र कुपोषणमय बन्दै गएको यादवले बताए । सानो उमेरमा बच्चा जन्माउँदा महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा समेत गम्भीर खालका असर देखापर्ने उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सर्लाहीको वाग्मती सेवा समाज र आड्रा नेपालले हालसालै मधेश प्रदेशका ८ वटै जिल्लाका २ हजार १ सय २१ महिलाको पाठेघरको स्वास्थ्य परीक्षण गरेको थियो । जसमा ५९ जनामा पाठेघरको मुखको क्यान्सर भएको र ५ सय ६२ महिलाको पाठेघर उच्च जोखिममा रहेको वाग्मती सेवा समाजले जनाएको छ ।
वाग्मती सेवा समाजका कार्यकारी निर्देशक नीरज भण्डारीका अनुसार पाठेघरको उच्च जोखिममा मुस्लिम, मुसहर, गरिब र विपन्न समुदायका महिलामा देखिएको छ । उनीहरूले सानै उमेरमा विवाह गरेर धेरै बच्चा जन्माएका छन् । जन्मान्तर कम छ ।
गर्भावस्थामा धेरै श्रम गरेका छन् । महोत्तरीको ३ वटा पालिकामा ६ सय ४० महिलाको स्वास्थ्य परीक्षण गर्दा ९१ महिलाको पाठेघर खसेको २० जनालाई पाठेघरको मुखको क्यान्सर भएको र जोखिममा रहेका २ सय ६८ महिलालाई सचेत गराइएको स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।
बालविवाह हुनु, सानै उमेरमा गर्भवती र सुत्केरी हुनु, आमा र शिशुको हेरचाहसम्बन्धी ज्ञान नहुनु, सरसफाइ र चेतनाको कमीले मधेशमा महिला र बालबालिकाको स्वास्थ्यमा गम्भीरखाले असर देखिएको जनस्वास्थ्य निर्देशक यादवले बताएका छन् ।
-कान्तिपुर


