
महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा फुटपाथ मिचेर निर्माण गरिएका संरचना हटाउने अभियान मंगलवार देखि सुरु गरिएको छ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने नगरपालिकाको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको मेयर सुखदेव यादवले बताउनुभयो। उहाँले नगरवासीले यही बेला फुटपाथ हटाउने अभियानलाई साथ र सहयोग गरेर व्यवस्थित सहर बनाउने अभियानमा प्रेरणा थप्नुपर्ने बताउनुभयो।

नगरपालिकाले १५ दिने सूचना जारी गरेको थियो। व्यापारीले अटेर गरेपछि बल प्रयोग गरेर हटाउन थालिएको छ। “महेन्द्रनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गर्दछु” मेयर यादवले भन्नुभयो। सुन्दर सहर हामी सबैको अभियान हुनपर्छ।

नगरपालिकाले बजार क्षेत्रभित्र सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दैसार्वजनिक सूचना जारी गरेको थियो। सार्वजनिक सूचना जारी र पटक-पटक माइकिङ गर्दा पनि व्यापारीले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको नगरपालिकाको दाबी छ।

अभियानअन्तर्गत छ लेन सडकको फुटपाथमा पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ। अभियानलाई हरेक दिन सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।




