मो. इसराफिल राइन
महोत्तरी | भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति मटिहानी नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख सहयोग गर्ने घोषणा गरेको छ।



आज बिहीबार बसेको नगर कार्यपालिका बैठकले सो निर्णय गर्दै जारी गरिएको प्रेस विज्ञप्ति मार्फत नगरपालिकाले भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल सहयोग
मटिहानी नगरपालिकाले विपद् प्रभावित नागरिकहरूको पीडामा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल रु. ५,००,००० (पाँच लाख रुपैयाँ) जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको छ।
मटिहानी नगरपालिकाले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा दृढतापूर्वक उभिने, नेपाल सरकारका राहत तथा उद्धार प्रयासमा पूर्ण सहयोग गर्ने तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन निरन्तर सक्रिय रहने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
साथै, आज बसेको सो कार्यपालिका बैठकले उक्त बाढी पहिरोमा परि सम्पर्क विहिन हुन पुग्नु भएका मटिहानी नगरपालिका वडा नं.-७ निवासी ४० वर्षिय श्री गंगाराम मंडलको यथाशिघ्र खोज पडताल एवं उद्दार गरि दिनु हुन सरकार संग अनुरोध गरेको छ ।





