महेन्द्रनगर- क्षीरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुर महरा टोलका बासिन्दाको लागि खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएपछि निकै स्थानीयहरु निकै खुसी भएका छन् ।
८५ घरधुरी रहेको महरा टोलका बासिन्दाले वर्षौंदेखि एउटा इनारको पानी पिउँदै आएकोमा यस वर्षको प्रचण्ड गर्मी र लामो समय देखि बर्षा नहुँदा इनार सुकेर खानेपानीको ठूलो समस्या झेल्दै आएका छन् ।




अहिले खानेपानीको लागि ४—५ किलोमिटर हिडेर बाल्टी र गाग्रीमा घण्टौं लगाएर पानीको जोहो गर्दै आएका दिगम्बरपुर महरा टोलवासीको अब घरदैला ेमै खानेपानी पाउने भएका छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाको विपत व्यवस्थापन कोषबाट ५ लाख बजेट परिचालन गरी खानेपानी निर्माणको कार्य अगाडि बढाइएको छ ।

नगर प्रमुख सुख देव यादवले खानेपानी निर्माण कार्यको विहिवार शुभारम्भ गर्दै अब महरा टोलबासीले खानेपानीको लागि काकाकुलको अवस्था नरह्ने बताए ।

वडावासीको मागअनुसार शुद्ध पेयजलको लागि पावर ड्रिल डिप ट्युवेल निर्माणलाई दु्रत गतिमा अगाडि बढाइएको उनले बताए ।

“खानेपानीको व्यवस्था नहुँदा वर्षौंदेखि समस्या झेल्दै घण्टौ लगाएर अर्को टोलबाट पानी ल्याउन बाध्य थियौँ”, स्थानिय श्यामो महराले भने, “अब टोल मै खानेपानीको डीप ट्युवेल जडानका लागि कार्य अगाडि बढाइएपछि निकै खुसी छौँ ।”




